Wednesday, December 1, 2021
spot_img

माओवादी नेता पुनको स्वास्थ्य गम्भीर, चीन लगियो

काठमाडौं, १० मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।

डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित छन् । बैंककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न शुक्रबार चीन लगिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिएका छन ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरु आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिएका छन ।

जण्डिसले सताएपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकहरुले अब योभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार पनि नदेखिएको भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए ।

काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस ९बिलरुविन० को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताएका छन् ।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका थिए ।

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए । यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निकै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार