Monday, September 20, 2021
spot_img

विवेकशील साझाको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १७ भदौ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।
अध्यक्ष मिश्रले आज मध्यान्ह १२:३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्।

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको छ। अध्यक्ष र संयोजकले राखेको दुबै केन्द्रीय समिति बैठक भर्चुअल रूपमा हुनेछ।

अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव ल्याएका थिए।

केन्द्रीय समिति बैठक हुनुभन्दा एक दिन अगाडि बुधबार अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच इमेलमा जुहारी चलेको थियो। एकअर्कामाथि उठाइएका प्रश्नबारे उनीहरूले इमेलमार्फत् प्रष्टाउन खोजेका थिए।

अध्यक्ष मिश्रले पार्टीमा देखिएको अन्यौलता हटाउन केन्द्रीय समिति बैठक बोलाइएको बताइरहेका छन् भने संयोजक पाण्डेले अध्यक्ष समझदारीमा नचलेपछि बाध्य भएर केन्द्रीय समिति बैठक राख्नुपरेको बताइरहेका छन्।

अध्यक्ष मिश्र पक्षले संयोजकलाई केन्द्रीय समिति बैठक राख्ने अधिकार नहुने बताएको छ भने संयोजक पाण्डे पक्षले अध्यक्ष र संयोजकको सहमतिमा मात्रै बैठकका एजेन्डा तय गरिनुपर्ने बताएका छन्।

अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई इमेल पठाएर आफू इमेलमा जुहारी नगर्ने तथा घरको झगडा छताछुल्ल नपार्ने बताएका छन्।

‘म फेरि इमेल जुहारीमा संलग्न हुन चाहन्न,’ अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई पठाएको इमेलमा भनिएको छ, ‘जे भन्नुपर्छ केन्द्रीय समितिमा भनौं भन्ने मेरो आग्रह छ। बिहीबार १२स्३० मा हुने केन्द्रीय समिति बैठकमा उपस्थित हुन अनुरोध गर्दछु।’

तर संयोजक पाण्डेले भने केन्द्रीय समिति बैठक स्थगित गर्न माग गरेका छन्। पार्टी विधान तथा घोषणा पत्र र पूर्वसहमतिहरू उलंघन गर्दै अध्यक्षले एकलौटी हिसावले केन्द्रीय समिति बैठक आह्वान गरेकोले स्थगित गरिनुपर्ने संयोजक पाण्डेले पठाएको इमेलमा उल्लेख छ।

उनले केन्द्रीय समिति बैठकहरू अहिले स्थगित गरेर भौतिक रूपमै गर्ने र पार्टीलाई विभाजन हुनबाट केन्द्रीय सदस्यहरूले पनि रोक्नुपर्ने उल्लेख गर्दै इमेल गरेपछि अध्यक्ष मिश्रले पनि इमेलबाटै १४ बुँदामा प्रष्टाउन खोजेका छन्।

पटकपटक एकता हुँदै र विभाजन हुँदै आएको विवेकशील साझा पार्टी पछिल्लो समय फेरि विभाजनको संघारमा पुगेको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार