Thursday, October 28, 2021
spot_img

अष्टलक्ष्मी शाक्यलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी

मकवानपुर, १३ भदौ । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् ।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै आलोचना भइरहेको छ । पार्टी विभाजनमा साथ नदिएकाले नेपाल शाक्यसँग रुष्ट बनेका छन् ।

मुख्यमन्त्री पदसँग आफ्नो विचार साटेको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टीमा सनाखत गरेपछि शाक्य अल्पमतमा पर्ने बताएका छन् । “हामीसँग रहनुभएका शाक्य पार्टी विधि विधानविपरित चल्ने ओलीको मतियार हुन जानुभयो,” नेपाल निकट एक सांसद्ले भने “मुख्यमन्त्री पदसँग आफ्नो विचारै साट्नेलाई आगामी दिनमा कसरी समर्थन गर्नु ?”

ती सांसदकाअनुसार एकीकृत समाजवादीमा खुलेपछि गठबन्धन बनाएर शाक्यलाई हटाउने तयारी भइरहेको छ । बागमती प्रदेशसभामा १०९ जना सांसदमध्ये एमालेको एकल बहुमत अर्थात् ५६ जना रहेका छन् । एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा कम्तिमा १२ जना प्रवेश गर्ने तयारी भएको बुझिएको छ ।

“एमालेका हामी नेपालनिकट कम्तिमा पनि १२ जना सांसद नयाँ पार्टीमा जान्छौं” नेपाल निकट अर्का प्रदेशसभा सदस्यले भने, “अनि हेरौं न कसरी जोगाउछिन् शाक्यले मुख्यमन्त्रीको कुर्सी ?” प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्रका २३/२३ र समाजवादीको १० देखि १२ जना सांसदले बहुमत पुग्ने भएकाले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी भित्रभित्रै छलफललाई तिव्रता दिइएको उनले खुलासा गरेका छन ।

पार्टी विभाजन भए पनि शाक्यले एमाले र समाजवादीको संयुक्त सरकार बनाउने भित्रभित्रै प्रयत्न गरेको बुझिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार