Thursday, October 28, 2021
spot_img

ईश्वर पोखरेलको टिप्पणी- अदृश्य शक्तिको कुत्सित चाहना पूरा गर्ने काम

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले टिप्पणी गर्दै अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको बताएका छन्।

पार्टीलाई एकतावद्ध बनाउन अध्यक्ष केपी शर्मा ओलीलगायतले गरेका प्रयासबीच नै अपराधपूर्ण काम भएको टिप्पणी पोखरेलको छ। ‘पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसविच पार्टी अध्यक्ष लगायत विभिन्न साथीहरूले गर्नुभएको अनगिन्ती प्रयासका बाबजुद एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने अपराधपूर्ण काम भएको छ,’ पोखरेलले भनेका छन्।

उनले पार्टीलाई एकतावद्ध बनाउन गरिएका समझदारी र लचकतालाई कुल्चने काम भएको पनि बताएका छन। ‘एमालेका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको चाहनाअनुसार पार्टीलाई एक ढिक्का बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको छ,’ पोखरेलले भनेका छन्।

नेता नेपालले आफ्नो अध्यक्षतामा वरिष्ठ नेतामा झलनाथ खनाल रहने गरी बुधबार ९५ सदस्यीय केन्द्रीय कमिटीसहित निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दल दर्ता गर्न निवेदन दिएका थिए।

यस्तो छ पोखरेलको भनाइ

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) को आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको छ।

दु:खका साथ भन्नुपर्दैछ: यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ।

पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच पार्टी अध्यक्ष लगायत विभिन्न साथीहरूले गर्नुभएको अनगिन्ती प्रयासका बाबजुद आज एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने अपराधपूर्ण काम भएको छ।

यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटकपटक अपिल गरिएको छ।

माधव नेपाललगायत केही साथीहरूसँग यसबीच म आफैँले पनि पटकपटक कुराकानी गरेको छु, छलफल गरेको छु।

तर ती सबै निर्रथक बने। नेकपा (एमाले) का नेता, कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ।

नेकपा (एमाले) मुलुकमा आर्थिक विकास र सम्वृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, समाजमा अराकताको अन्त्य आदि उद्देश्य बोकेर अघि बढिरहेको पार्टी हो।

भित्री बाहिरी सबै किसिमका प्रतिकूलताहरूसित जुधेर यसले आफूलाई यिनै उद्देश्यमा अगाडि बढाउँदै आएको छ। यो नेपाली जनताबाट पटकपटक अनुमोदित भएको राजनीतिक पार्टी हो। त्यसैले यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुनेछैन।

फुटको विगत हामी सबैले देखेका, भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु।

नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध छ, दृढताका साथ अघि बढिरहनेछ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार