२४ बैशाख २०७८, शुक्रबार

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं, १८ वैशाख । नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा धनगढी एफसी र एफसी चितवनबीचको प्रतिस्पर्धा हुँदैछ ।

धनगढी र चितवनबीचको खेल आज अपरान्ह २ः३० बजे सुरु हुनेछ । आज धनगढी, चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । धनगढी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३ शुन्य गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३ शुन्य गोल अन्तरले हराएको थियो । तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १/१ गोलको बराबरीमा रोकिएको थियो ।

चितवनको यो तेस्रो खेल हो । चितवन पनि धनगढीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । चितवन २ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १/१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा चितवनले बुटवलसँग २/२ को बराबरी खेलेको थियो ।

त्यस्तै आजै हुने दोस्रो खेल बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीबीच हुँदैछ । बुटवल र विराटनगरबीचको खेल आज साँझ ५ः३० बजे सुरु हुनेछ ।

बुटवल २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आज बुटवल जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ । पहिलो खेलमा पोखरा एफसीलाई २ शुन्य गोल अन्तरले हराएको बुटवल दोस्रो खेलमा भने चितवनसँग बराबरीमा रोकिएको थियो ।

विराटनगर २ खेलमा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पहिलो खेलमा धनगढीलाई पराजित गरेको विराटनगर दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो ।

0
Would love your thoughts, please comment.x
()
x