२३ बैशाख २०७८, बिहीबार

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

पोखरा, १३ वैशाख । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन ।

प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।

विपी कोइराला, गिरिजा कोइरालासँग जोडेर अहिलेको संसद बिघटन जायज छ भनेर मुख्यमन्त्री गुरुङ पुष्टि गर्न लागेको नेपालीले बताएका छन । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको गण्डकी प्रदेश सरकार मतियार बनेको र यो गण्डकी प्रदेशका जनताको भावनाबिपरीत रहेको उनको भनाइ थियो ।

संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेकाले यो असंवैधानिक सरकार भएको नेपालीले दाबी गरेका छन । सत्ता साझेदार दलले समर्थन फिर्ता लिइरहँदा पनि मुख्यमन्त्री कुर्चीमै रहनु गलत भएको उनको भनाइ थियो ।

६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको उनको आरोप थियो ।
गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङेले पनि मुख्यमन्त्री गुरुङलाई नै साथ दिने बताएका छन् ।

माओवादीका १२ सांसदमध्ये १ जना सभामुख छन् । कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् । जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत हाल्दा मुख्यमन्त्री गुरुङ सरकार गिराउन पुग्ने बहुमत ३१ जना पुग्छ ।

0
Would love your thoughts, please comment.x
()
x