२३ बैशाख २०७८, बिहीबार

गण्डकी प्रदेशका चार विपक्षी दलको बैठक बस्दै

कास्की, १२ वैशाख । गण्डकी प्रदेशका चार विपक्षी दलको बैठक आज बस्दैछ । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न ४ दलको संयुक्त बैठक आज बस्न लागेको हो ।

अविश्वास प्रस्तावबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको नेपाली कांग्रेसका सांसद कुमार खड्काले बताएका छन । विशेष अधिवेशन सुरु हुनुअघि पार्टीको अवस्था बुझ्न बैठक राखिएको उनले भनाइ छ । ‘भोलिबाट संसद् अधिवेशन सुरु हुँदैछ, आज ४ दल एकैठाउँ बसेर कुराकानी गरौँ, विश्लेषण गरौँ भनेर बैठक राखेका हौँ,’ उनले भने ।

वैशाख २ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यही दिन सरकारले प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य गरेको थियो ।

अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरे पनि सोही दिन विपक्षी दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई पत्र दिएका थिए । वैशाख ६ गते प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेका लागि अधिवेशन आह्वान गरेका थिए ।

भोलि बस्ने विशेष अधिवेशनको पहिलो बैठकमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ । विशेष अधिवेशन भएकाले अन्य विषयमाथि छलफल नहुने र सिधै अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान बताएका छन ।

‘अब नियमित अधिवेशन भएको भए अन्य विषयमा छलफल हुन सक्थ्यो, यो विशेष अधिवेशन भएकाले सिधै अविश्वास प्रस्तावमा छलफल हुन्छ,’ चुमानले भने ।

माओवादी संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई पोखरा नछाड्न निर्देशन दिइसकेको छ । अविश्वासको प्रस्ताव पास गराउन सबै एकजुट हुनुपर्ने भएकाले पोखरा नछाड्न निर्देशन गरिएको चुमानले बताएका छन । ‘सबै एकजुट भएर बस्नुपर्यो भनेर पोखरा नछाड्न निर्देशन गरेका हौँ,’ उनले भने ।

आफ्नो पार्टीका सांसदले फ्लोर क्रस गर्ने सम्भावना नरहेको उनले बताएका छन । ‘हाम्रो दलका सांसदबाट त्यो सम्भावना छैन, भावनात्मक र राजनीतिक रुपले एकैठाउँमा छौँ,’ चुमानले भने ।

कांग्रेस सांसद कुमार खड्का आफूहरुको गठबन्धनमा कुनै द्वन्द्व नरहेकाले फ्लोर क्रस नहुने बताएका छन । कर्णाली प्रदेशमा सत्ता पक्षका सांसदले नै फ्लोर क्रस गरेको भन्दै गण्डकीमा पनि सत्ता पक्षबाट फ्लोर क्रस हुन सक्ने उनको आंकलन छ । ‘बरु सत्ता पक्षकै माननीयहरुल फ्लोर क्रस गर्न सक्नुहोला,’ खड्काले भने, ‘हाम्रोमा कुनै द्वन्द्व छैन, अविश्वास प्रस्ताव पास हुन्छ ।’

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा एक स्वतन्त्र सांसदसहित २८ सांसद छन् । पहिला राष्ट्रिय जनमोर्चाका ३ सांसदको साथ पाएको गुरुङ सरकार जनमोर्चाका सांसदले साथ छाडेपछि ढल्ने अवस्थामा पुगेको हो ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य निकालेर गण्डकी प्रदेश सरकारलाई साथ दिन नसकिने बताएका थिए । त्यसलगत्तै गण्डकी प्रदेशमा गुरुङ सरकार ढाल्ने कसरत सुरु भएको थियो ।

0
Would love your thoughts, please comment.x
()
x