२४ बैशाख २०७८, शुक्रबार

आज चैते दसैं, घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

काठमाडौं, ७ वैशाख । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज हिन्दु नेपालीहरुले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन्।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दसैंलाई बडादसैं भनिन्छ। बडादसैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।

चैते दसैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमानढोकाको दसैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ। चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।

अघिल्लो वर्षको चैते दसैं पर्व कोरोना महामारीका कारण प्रभावित भएको थियो भने यस बर्षको चैते दशैं पनि कोरोनाको दोस्रो लहरका कारण प्रभावित बनेको छ । कोरोना प्रभाव नभएका अघिल्ला बर्षहरुमा चैते दशैंका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गथ्र्यो। तर यस वर्ष कोरोना संक्रमण जोखिमका कारण त्यस्तो अवस्था छैन ।

सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ। मन्दिर जान नसक्नेले घरबाटै मानसिक रुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्‍चाङ्‍ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले बताए। ‘वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर भन्‍ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्‍न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ,’ उनले भने।

बडादसैं जस्तै चैते दसैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्‍गति प्राप्तीका लागि आशीर्वाद लिनका लागि हो। बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दसैंका अवसरमा विशेष पूजा हुन्छ।

0
Would love your thoughts, please comment.x
()
x