२८ चैत्र २०७७, शनिबार

भारतमा एकैदिन एक लाख २७ हजार सङ्क्रमित थपिए

सिन्ह्वा, २६ चैत । भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा एकैदिन झन्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७ सय ८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५ सय ७४ पुगेको छ ।

पछिल्लो एक दिनमा भारतमा ६ सय ८५ जनाको कारोन भाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८ सय ६२ पुगेको छ ।

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३ सय १९ रहेको छ । यसअघि एकैदिनमा सबैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिकरुपमा बढ्दै गएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस