२३ बैशाख २०७८, बिहीबार

ईतिहासको कठघरामा माओवादी शक्तिहरु

विवेक क्षेत्री

नेपालका हरेक ठूला राजनीतिक दलहरू आन्दोलनको भट्टीबाटै हुर्किएर आएको पाइन्छ । २००७ सालको आन्दोलनको पृष्ठभूमिमा नेपाली कांग्रेसको जन्म भएको थियो भने तत्कालिन नेकपा एमालेले पनि २०२८ सालको झापा आन्दोलनको अगुवाई गरेर आएको थियो भने माओवादी केन्द्र त झन् १० वर्षे जनयुद्धको राप र तापबाट राजनीतिमा आएको हो । सर्वहारा वर्गका महान् नेता क. माओत्सेतुङको विचारमा विचार र कार्यदिशा ठीक हुनु वा नहुनुले सबै कुराको निर्धारण गर्दछ । विचार ठीक छ भने सेना नभएको पार्टीसँग सेना प्राप्त हुन्छ, हतियार नभएको पार्टीलाई हतियार प्राप्त हुन्छ र विशाल जनसमुदायको पंक्तीले पार्टीलाई साथ दिँदै जान्छन् । माओवादी आन्दोलनमा पनि ठीक त्यही नियम लागू भयो । २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गर्दा माओवादी आन्दोलनमा नत सशक्त पार्टी थियो, नत जनसेना अनि हतियार नै थियो । अनि ठूलो संख्यामा साथ दिने जनसमुदाय पनि थिएन् । तर महान् विचारसहित युद्धमा होमिएको माओवादी आन्दोलनमा विचारकै कारणले ती कुराहरू क्रमशः प्राप्त हुँदैगए । अन्ततः देशको ८० प्रतिशतभन्दा बढी भूभाग माओवादीको कब्जामा पुग्यो ।

२०५२ सालमा माओवादी पार्टीले जनयुद्ध गर्दा यो आतंककारी गतिविधि हो, एक हप्तामै ठीक पारिन्छ भन्ने देखि लिएर माओवादीका केही माग पूरा गराई वार्ता प्रक्रियामा सहभागी गराउनुपर्छ भन्ने नागरिक आवाज उठ्दा २०४७ को संविधान विश्वको सर्वोत्कृष्ट संविधान भएको जिकिर गर्दै संविधानमा कमा र फुलस्टप समेत परिवर्तन गर्न सकिँदैन भन्ने राजनीतिक दलहरू थिए तर राजा ज्ञानेन्द्रको कदमपछि सबै राजनीतिक दलहरु एकैठाउँमा आइपुगे ।

२०६२ सालसम्म आइपुग्दा ती ठूला भनिने राजनीतिक दलहरू माओवादीको नारामा सहमत हुन आइपुगे । यसको पछाडि माओवादीको विचार विचारप्रतिको चट्टानी आस्था एवं उक्त विचारलाई कार्यान्वयन गर्न सक्ने दृढ संकल्पीत नेतृत्वको कारणले सम्भव भयो । आफुहरूलाई आतंककारीको बिल्ला भिराई पचासौँ लाख टाउकाको मूल्य तोकिँदा समेत त्यसको प्रवाह नगरी टाउकोमा कात्रो बाँधेर युद्धमा होमिएका नेपाली जनताको मुक्तिका लागि लड्ने तत्कालिन माओवादी नेतृत्व र पार्टी पंक्तिको त्याग वास्तवमा स्मरण गर्न योग्य छ, जसको कारणले देशमा परिवर्तन सम्भव भयो । देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका कुराहरूको प्राप्ति भयो ।

२०६४ साल चैत २८ गते सम्पन्न पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनमा जनताले माओवादी पार्टीलाई अभूतपूर्वक समर्थन गर्दै पहिलो पार्टी बनाए । यो वास्तवमा २०४६ साल पछिको संसदीय राजनीतिको विकृतिका विरूद्धको विद्रोह र १७ हजार मानिसको बलिदानमा स्थापित परिवर्तनकामी शक्तिलाई जनताले दिएको ऐतिहासिक अवसर थियो । सबैलाई हेर्यौँ पटकपटक, माओवादीलाई हेरौँ यसपटक’ भन्ने लोकप्रिय नाराले पनि माओवादी पंक्तिलाई निकै मद्दत पुर्यायो । काठमाडौँ उपत्यका लगायतका शहरी ठाउँहरूमा पनि माओवादीको धेरै राम्रो उपस्थिति देखियो । माओवादी पार्टीलाई जनताले बहुमत नदिए पनि १ नं. को पार्टी बनाए ।

तर संविधानसभाको परिणामपछि असाध्यै हौसिएको माओवादी पंक्तिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा अन्य पार्टीहरूसँग परिपक्व गठबन्धन निर्माण गर्न नसक्नुको कारण पहिलो पार्टी हुँदाहुँदै पनि उक्त दुबै पदहरू गुमाउन पुगे । राष्ट्रपति र उपराष्ट्रपति दुबै पदको लोभ नगरी राष्ट्रपति आफ्नै पोल्टामा पार्नसक्ने सम्भावनालाई पनि माओवादीले गुमायो । त्यसबाट पाठ सिकेर सरकार गठनको समयमा भने तत्कालिन एमालेसँग मिलेर सरकार गठन गर्यो ।

दस वर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनका मागबमोजिमको प्रगतिशील संविधान निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने माओवादीले व्यवस्था नै परिवर्तन गरे जसरी आफुलाई सरकारसँग जोड्न थाल्यो जबकी त्यो त युद्धको एउटा मोर्चा मात्र थियो । सरकारको मोर्चा मात्र सम्हालेको माओवादीले राज्यसत्ता नै हातमा आए जसरी निर्णयहरू गर्न थाल्यो । तत्कालिन सेनाप्रमुख रूक्मागंत कटुवाललाई कारवाही गर्ने लगायतका निर्णयहरूले गर्दा माओवादी पार्टी सरकारबाट बाहिरिनु पर्ये ।

सरकारबाट बाहिरिएसँगै आन्दोलनमा होमिएको माओवादी एकहप्ते आमहड्तालसँगै बिना निस्कर्ष आन्दोलनबाट पछि हट्न बाध्य भयो  । माधव नेपाल र झलनाथ खनाल नेतृत्वको सरकारको बर्हिगनसँगै फेरी माओवादीलाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो । डा बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण र विकासका लागि राष्ट्रिय गौरवका योजना निर्माण गरी केहि परिवर्तन गर्न खोजेको देखिन्छ । तर सिंगो माओवादी तप्का एकताबद्ध भएर अगाडि बढ्न सकेन । जनताले अभूतपूर्वक जनसमर्थन गरी पहिलो पार्टी बनाएर पठाएको माओवादीले संविधानसभाबाट प्रगतिशिल र जनपक्षिय संविधान निर्माण गर्ने काम गर्नुपर्नेमा आफै अन्तरसंघर्षको सिकार समेत हुनपुग्यो । मोहन वैद्य किरणको नेतृत्वको समूहले पुष्मकमल दाहाल (प्रचण्ड) र डा.बाबुराम भट्टराईसँग सम्बन्ध विच्छेद गर्दै नयाँ पार्टी गठन गर्यो भने संविधानसभाबाट संविधान जारी भएपछि डा. बाबुराम भट्टराई पनि माओवादी छोडेर नयाँ पार्टी निर्माणमा लागे ।

यसबीचमा माओवादी धारका कुनै पनि समूहले आशातीत सफलता हाँसिल गर्न त सकेनन् बरु, उल्टै जनताबाट कट्दै गए । क.प्रचण्डलाई आफ्नो अस्तीत्व धान्न कहिले कांगे्रस त कहिले एमालेसँग सहकार्य गर्नुपर्ने बाध्यता भयो भने डा.बाबुराम भटट्राईलाई गोरखाबाट चुनाव जित्न कांग्रेसको सहयोग लिनुपर्ने भयो । आधाभन्दा बढी नेतृत्व सहितको टिमले छोडेर प्रचण्डलाई साथ दिएपछि किरण नेतृत्वको माओवादीले फरक धार लियो । अर्को एकिकृत क्रान्तिको कुरा गर्ने विप्लव समूहलाई पनि बदलिँदो परिवेशमा क्रान्तिकारी विरासत जोगाउन धौधौ भयो ।

२०७४ को स्थानीय निर्वाचन र आमनिर्वाचनसम्म आइपुग्दा नेपाली जनताले नेपालको कम्युनिष्ट आन्दोलनलाई अभुतपूर्व साथ दिए । दुई ठूला कम्युनिष्ट पार्टी नेकपा माओवादी र नेकपा एमालेको कार्यगत एकतासँगै देशमा नयाँ उत्साह पैदा भयो । कम्युनिष्ट घटकलाई जनताले दुई तिहाई नजिकको बहुमत दिए । अव समय आएको थियो ७० वर्षदेखिको कम्युनिष्ट आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्ने । पूँजीवादी पार्टी नेपाली कांग्रेस समेतको सहकार्यमा बनेको नेपालको समाजवाद उन्मुख संविधानलाई कार्यान्वयन गर्ने, नेपाललाई विकास र समृद्धिको बाटोमा लैजाने ।

तर त्यसो भएन । कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले जनताले आशा गरेबमोजिमको काम गर्न सकेन । न्यूनतम पूँजीबादी कार्यक्रम पनि लागू गर्न सकेन । सरकार दलाल पुँजीवाद र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भनेजस्तै आसेपासे पूँजीवादमा फस्न पुग्यो ।

पार्टीको हालत पनि करिव करिव त्यस्तै हुनपुग्यो । ठुलो जेट विमानरुपी पार्टीका क्याप्टेनहरु के.पी. शर्मा ओली र पुष्पकमल दाहालको मनमौजीमा पार्टी चल्न थाल्यो । पार्टीमा सिद्धान्त, विचार कार्यक्रम आदिको बारेमा छलफल भएन । विधि  र प्रक्रियामा पार्टी चल्न सकेन । अन्तत्वगत्वा अध्यक्षद्वयको लेनदेनको सिकार पार्टी बन्यो । मन्त्री कसलाई बनाउने, राजनीतिक नियुक्ति कसरी दिने मापदण्ड बनेन । यी विषयहरु अध्यक्षद्वयको निगाहमा भर पर्ने स्थिति सिर्जना भयो । पार्टीभित्रको पद र कुर्सीको भागबण्डाको राजनीति, साढे दुई वर्षको सरकारको नेतृत्वको भागबण्डालाई ५ वर्ष पुर्याउने एवं एकजना पार्टी अध्यक्षलाई कार्यकारीमा लैजाने चरणमा पुग्दा पनि समस्या हल हुन सकेन । हुँदाहुँदा पार्टीका एकजना अध्यक्ष बैठक नै नबोलाउने, बैठकमा उपस्थित नहुने स्थिति सिर्जना भयो । पछिल्लो समय क.प्रचण्डबाट केही उदारता देखाए पनि पार्टीको समस्या हल हुनसकेन ।

अहिले हामी ईतिहासको संगीन मोडमा छौँ । देशका सबै परिवर्तनकामी शक्तिहरु विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरु जोगाउन एक ठाउँमा आउनुपर्ने समय आएको छ । नागरिक अगुवाहरु पनि सडकमा आउन बाध्य भएका छन् । तर के संसद पुर्नस्थापना भएर के.पी. शर्मा ओलीको ठाउँमा प्रचण्ड, माधव वा शेरबहादुर देउवा आउँदैमा अहिलेको समस्याको समाधान हुनसक्छ त ? अवश्य हुनेछैन । अहिले देशमा भ्रष्टाचार र कुशासन मौलाएर ठूलो रोगको रुपमा रहेको छ । जबसम्म देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुँदैन, तबसम्म देश विकास र समृद्धितिर जाँदैन । यसका विरुद्धको सचेत पहल यतिबेलाको आवश्यकता हो । ठीक यहिनेर माओवादी आन्दोलनका पार्टीहरुको भूमिकाको आवश्यकता देखिन्छ । १७ हजार शहिदले सिंचीत रक्तरञ्जित झण्डालाई राष्ट्र निर्माणमा दरोसँग उठाउने कि टुटफुट र विभाजनको शिकार भइरहने ? कमरेडहरुले सोच्नेबेला आएको छ । ईतिहासको निर्मम समिक्षा गर्ने समय हो यो । अब प्रचण्ड, किरण र बाबुरामले एकठाउँमा बसेर छलफल गर्ने समय आएको छ । क. किरण, विप्लव, गोपाल किराँती र आहुतीहरुले जनताको आकांक्षा र अहिलेको आवश्यकतालाई विचार गर्ने समय आएको छ । नेपाली जनता फेरी युद्धको भुमरिमा फस्न तयार छैनन् । यदि जनतन्त्रका लागि, भ्रष्टाचार र कुशासनको विरुद्धको लडाईको नेतृत्व गर्ने हो भने जनताले अवश्य साथ दिनेछन् । त्यसका लागि आफैलाई आगो सल्काउन माओवादी आन्दोलनकारीहरु तयार हुन्छन् की हुँदैनन् । आफैलाई महान् रुपान्तरणको भट्टीमा खारिन माओवादी धारका क्रान्तिकारीहरु तयार हुन्छन् की हुँदैनन् । त्यतिमात्रले पुग्दैन । अब त क.प्रचण्ड, किरण, बाबुरामलगायतका पुराना माओवादी शक्तिहरुले माधव, झलनाथ, उपेन्द्र मात्र होइन, विवेकशिल र साझा लगायतका सम्पूर्ण परिवर्तनकारी र अग्रगामी शक्तिहरुसँग हातेमालो गर्न तयार हुनुपर्छ । विगतका गल्तीहरुको आत्मालोचना गरेर अगाडि बढ्न तयार हुनुपर्छ । यदि तयार भएनन् भने ईतिहास त अगाडि बढ्छ । कमरेडहरु पछुताउने सिवाय केही हुनेछैन । आशा गरौँ विगतका आँधिमय दिनहरुमा टाउकामा कात्रो बेरेर हिंडेका कमरेडहरुले देशको परिवर्तन, विकास र समृद्धिका लागि सचेत पहलकदमी लिनुहुनेछ भन्ने विश्वास लिएका छन् ।

0
Would love your thoughts, please comment.x
()
x