७ बैशाख २०७८, मंगलवार

टेलिकमले सुरु गर्‍यो ‘एनटी च्याटबोट’ सेवा

काठमाडौं, ४ फागुन । नेपाल टेलिकमले प्रदान गर्ने विभिन्न सेवाबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत् स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ। 

कम्पनीको वेबसाइट खोल्नासाथ सुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्ने कम्पनीले जनाएको छ। त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको कम्पनीले जनाएको छ। यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनोट गर्न तथा नेपाली र अंग्रेजी भाषा छनोट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ । 

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

त्यसैगरी, विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र गुनासो समेत गर्न सकिन्छ। सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत् स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ। 

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ। कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु प्रयोग गर्न सक्ने बताइएको छ।

ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस