७ बैशाख २०७८, मंगलवार

‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी अन्तिम चरणमा

पोखरा, ३० माघ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी अन्तिम चरणमा पुगेको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी आगामी फागुन १ गते शनिबार पोखरा रङ्गशालाबाट सुरु हुने म्याराथन (४२.१९५) किमीमा १ सय ५६ जना धावकले नाम दर्ता गराएको जनाएको छ ।

यसैगरी यस वर्षबाट महिलाका लागि २१ किमी ‘हाफ म्याराथन’ समेत थपिएकामा महिलातर्फ १९ धावकले अहिलेसम्म नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताएका छन । पूर्वमेचीदेखी पश्चिम महाकालीसम्मका धावकले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्वमानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चुनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ ।

म्याराथनको विजेताले रु दुई लाख र द्वितीयले रु एक लाख तथा तृतीयले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलाको हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, रु ७५ हजार, रु ५० हजार र रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली खेलकुदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरूको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

विगतमा वर्षमा पोखरासँग भगिनी सम्बन्ध भएका जापान, चीनलगायतका विदेशी धावकले पोखरा म्याराथनमा सहभागिता जनाउने गरे पनि यस वर्ष कोरोनाका कारण विदेशी धावकको उपस्थिति नरहने मञ्चका सचिव कृष्ण तिमिल्सिनाले बताएका छन ।

उनकाअनुसार विदेशी धावक सहभागी नभए पनि नेपालस्थित केही विदेशी कूटनीतिक नियोगका केही प्रतिनिधि कार्यक्रममा सहभागी बन्नेछन् । यसैगरी गत संस्करणमा ‘रन फर फन’ अन्तर्गत हजारौँ पोखरेली दौडमा निस्कने गरेकामा यस वर्ष सो कार्यक्रम नराखिएको आयोजकले जनाएको छ ।

म्याराथनप्रति पोखरेलीले सकारात्मक सहयोग गर्दै आएकामा प्रदेश सरकार र पोखरा महानगरपालिकाले बजेट कार्यक्रममा म्याराथनलाई राखेकाले यसप्रति सबैको अपनत्व कायम भएको बताइन्छ ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरकफरक मितिमा आयोजना गर्ने तयारी मञ्चको छ । ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ ।

यसैगरी १० किमी महिलारपुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्रछात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिलारपुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्रछात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस