२८ चैत्र २०७७, शनिबार

माधवनारायणका व्रतालु पशुपति तीर्थ यात्रामा

काठमाडौं, २९ माघ । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका व्रतालु तीर्थ यात्राका लागि पशुपति आएका छन् । बुधबार माघकृष्ण चतुर्दशीका दिन बेलुकी पशुपति आएका उनीहरुलाई बिहीबार औंसीका दिन पशुपति दर्शन गराइन्छ ।

माधवनारायण व्रतालु पशुपति आएको बेला आर्यघाटमा शव नजलाउने चलन रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन । उनका अनुसार ‘माधव नारायणका व्रतालु पशुपति आएका बेला आर्यघाटमा शव जलाउन रोकिन्छ । भष्मेश्वरतर्फ भने शव जलाउन दिइन्छ ।’

माधवनारायणका व्रतालु बुधबार साँझ करिब सात बजेतिर पशुपति आइपुगेका थिए । उनीहरु बिहीबार १०/११ बजे पशुपतिबाट प्रस्थान गर्छन् । उनीहरु पशुपति आएदेखि नफर्किएसम्म आर्यघाटमा शव जलाउन रोकिने डा. ढकालको भनाइ छ ।

माघ कृष्ण औंसी (आज)का दिन बिहान पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने व्रत विधि रहेको छ । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने परम्परा छ । माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने व्रत विधि छ ।

प्रतिक्रिया दिनुहोस