७ बैशाख २०७८, मंगलवार

एमसीसीको समर्थनमा गएको छैन,परिमार्जन गर्न जरुरी छ : प्रचण्ड

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।

बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यसै विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनका लागि तय भएका नारामात्रै लगाउन भनेको तर आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका हुन् ।

पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘म एमसीसीको समर्थनमा गएको छैन । परिमार्जन गर्न जरुरी छ । छलफल भइरहेको छ । पार्टीले कुनै निर्णय गरेको छैन ।’
‘प्रचण्ड’ले श्वेतपत्रको तयारीमा रहेको बताएका छन् । राजनीतिक घटनाक्रमहरूको यथार्थ जानकारी गराउन श्वेतपत्र जारी गरिने प्रचण्डले बताएका छन ।

“सत्यको पक्षमा लडाइँमा छौँ, पार्टी भित्रको विषय मात्र होइन” प्रचण्डले सञ्चारकर्मीसँगको साक्षात्कारमा भने, “प्रतिगमन नै हो, आन्दोलनको विकल्प छैन ।”

अब पनि आमहडताल हुनसक्छ भन्दै प्रचण्डले अन्याय र अत्याचार बढ्दै गएमा कठोर आन्दोलन गर्नुपर्ने बताएका छन ।

संवैधानिक नियुक्ति, भूमि आयोगको नियुक्ति जस्ता गम्भीर निर्णय गरेकाले हिजोको आमहडताल गर्नुपरेको भन्दै उनले आमहडतालबाट परेको समस्याप्रति पार्टीले क्षमा माग्दै आएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस