७ बैशाख २०७८, मंगलवार

हिरासतमा रहेकी प्रजातन्त्रवादी नेतृ सुकीमाथि मुद्दा दायर

काठमाडौं, २२ माघ । म्यानमारमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि म्यानमार प्रहरीले मुद्दा दायर गरेको छ । सोमबार सैन्य कू भएपछि हिरासतमा लिइएकी नेतृमाथि प्रहरीले मुद्दा दायर गरेको हो ।

म्यानमारको प्रहरीको कागजातअनुसार सुकीलाई १५ फेब्रुअरीसम्मका लागि हिरासतको म्याद थपिएको छ । सुकीमाथि दायर गरिएको मुद्दामा उनले आयात/निर्यातको कानुन उल्लंघन गरेको तथा अवैध सञ्चार उपकरण प्रयोग गरेको उल्लेख छ ।

यद्यपि अहिले सुकीलाई कहाँ राखिएको छ भन्ने खुलेको छैन । सोमबार कू गरिएसँगै उनलाई छुट्टै राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही सञ्चारमाध्यमहरुले भने उनलाई आफ्नै घरमा राखिएको बताएका छन् ।

कू गरिएसँगै हिरासतमा लिइएका राष्ट्रपति विन मिन्ट विरुद्ध पनि मुद्दा दायर भएको छ । उनलाई भने कोरोना महामारी नियन्त्रणको लागि भिड जम्मा गर्नमा लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइएको छ । उनलाई पनि दुई साताका लागि हिरासतको म्याद थपिएको छ ।

म्यानमारमा कू भएपछि राष्ट्रपति र सुकीलाई सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस