२८ चैत्र २०७७, शनिबार

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

कञ्चनपुर, १८ माघ । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिएका छन ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।

यसअघि गत मंसिरमा कञ्चनपुरबाटै नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस