७ बैशाख २०७८, मंगलवार

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन: ‘सरकारी गाडी चलाउन र पञ्च भेला गर्न प्रतिबन्द’

काठमाडौं, १६ माघ । अनेरास्ववियूको प्रचण्डमाधव समूहले सरकारविरुद्धको तेस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । आज अनेरास्ववियूले पत्रकार सम्मेलन गरी तेस्रो चरणको कार्यक्रम घोषणा गरेको हो ।

तेस्रो चरणको विरोध कार्यक्रममा अनेरास्ववियूले सरकारी गाडी चलाउन प्रतिबन्द गर्ने घोषणा गरेको छ । अहिले सरकारले पञ्च भेलाको आयोजना गर्दै सरकारी सम्पत्ती खर्च गरेको भन्दै पञ्च भेलामा सरकारी सम्पत्ती खर्च गर्न बन्द गराउने घोषणा गरेको हो ।

अनेरास्ववियूले आजैदेखि केन्द्रीय मन्त्रीहरुलाई कालो झण्डा देखाउन सुरु गर्ने घोषणा गरेको छ । दोस्रो चरणको कार्यक्रममा पनि अनेरास्ववियूले कालो झण्डा देखाएको थियो ।

आन्दोलनअन्तर्गत माग १८–१९ गते स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा यातायात तथा खाने बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने भएकाले त्यसो नगर्न ज्ञापन पत्र बुझाउन लागेको अनेरास्ववियूको सहसंयोजक रञ्जित तामाङले बताएका छन ।

माग २९ गते सुरक्षा निकाय, संवैधानिक निकाय, कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारको भद्र अवज्ञा गर्न आग्रह गर्ने भएको छ । माग २१ गते प्रत्येक क्याम्पस अगाडि कालो झण्डासहित आधा घण्टा चक्का जाम गर्ने भएको छ ।

माग २२ र २३ गते पूर्णरुपमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिने, २२ गते युवा मास प्रर्दशन गर्ने तयारी गरेको छ । माग २५ गते केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

राज्य र सरकारी सम्पत्ती दोहन गर्नु नयाँ प्रकारको फाँसिवाद लागु गर्न खोजेको अनेरास्ववियूले जनाएको छ । प्रतिगामी सरकार र प्रतिगामी शक्तिको पक्षमा गर्ने कार्यक्रमको डटेर विरोध गर्न पनि अनेरास्ववियूले आफ्नो नेताकार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस