९ बैशाख २०७८, बिहीबार

आजदेखि स्वस्थानी ब्रत आरम्भ

काठमाडौं, १५ माघ । हिन्दु धर्मावलम्बीहरुले सनातनकालदेखि महत्वपुर्ण धार्मिक ब्रतका रुपमा मान्दै आएको श्री स्वस्थानी व्रत आजदेखि सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ ।
तिथिका आधारमा मनाइने हुनाले प्रत्यक वर्ष यो पर्ब फरक–फरक मितिमा पर्ने गर्छ । २०७७ साल माघ महिनाको १५ गते पौषशुक्ल पूर्णिमाबाट आरम्भ भई फाल्गुण १५ शनिवार पूर्णिमाकै दिन स्वस्थानी व्रत कथाको समाप्ती हुनेछ ।

हिन्दू धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वास्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रतकथाका ३१ अध्यायहरु पाठ गरिन्छ । यो क्रम एक महिनाभर निरन्तर चल्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरुले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरु पूर्ण साकाहारी भोजन गर्छन ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्रीमहादेव पति पाऊँ भनी गरिएको व्रतकथा आजको दिनसम्म पनि हिन्दूधर्ममा आस्था राख्ने विवाहित तथा अविवाहित महिलाहरूले दीर्घायू, सुस्वास्थ्य, परिवारको प्रगति, आफ्नो घर, समाज तथा देशमा सुख शान्ति कायम होस् तथा आफ्नो मनोकामना, पढाइ, स्वास्थ्य, विदेश यात्रा तथा राम्रो नोकरीको अभिलाषा राख्दै व्रत बस्ने गरेको पाइन्छ ।

मार्कण्डेय पुराणको हिवमत खण्डमा वर्णन गरिए अनुसार व्रत शुरु हुनुभन्दा एक दिन अगाडी अर्थात् पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी पवित्र भई एक छाक मात्र भोजन गरी बस्नुपर्छ । भालिपल्ट पौष शुक्ल पूर्णिमाका दिन पवित्र खोला तथा तलाउमा नुहाएर आई पूजास्थलमा बसी शुद्ध जलले अभिषेक गरी आजदेखि म एक महिना श्रीस्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्छु भनी दृढ प्रतीज्ञा वा सङ्कल्प गरी व्रत आरम्भ गर्नुपर्छ ।

श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस