७ बैशाख २०७८, मंगलवार

वेष्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा बंगलादेश विजयी

बंगलादेश, १३ माघ । वेष्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा बंगलादेश विजयी भएको छ । जितसँगै तीन खेलको सिरिज बंगलादेशले क्लिन स्विप गरेको छ ।

सोमबार भएको खेलमा वेष्ट इन्डिजलाई १ सय २० रनको फराकिलो जित हासिल गरेको हो ।

चट्टोग्रामस्थित जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले चार खेलाडीको अर्धशतकीय पारीको मद्धतमा २ सय ९७ रनको योगफल बनाएको थियो ।

बंगलादेशका तामिम इक्बाल, मुस्फिकुर रहिम, महमदुल्लाह र साकिब अल हसनले अर्धशतक बनाएका थिए । उनीहरुमध्ये तीनले समान ६४ रन बनाए । तामिम, मुस्फिकुर र महमदुल्लाहले ६४ रन बनाउँदा साकिलले ५१ रन बनाए ।

२ सय ९८ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेष्ट इन्डिजले ४४.२ ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो । वेष्ट इन्डिजका रोभमन पावेलले ४७, नक्रमा बोनरले ३१, ज्यासन मोहम्मदले १७ रन बनाए ।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका मोहम्मद सैफुदिनले २, मुस्ताफिजुर रहमान र मेहिदी हसनले समान २–२ विकेट हात पारे ।

जितसँगै घरेलु टोली बंगलादेशले तीन खेलको सिरिज ३–० ले क्लिन स्विप गरेको छ । यसअघि भएको खेलमा बंगलादेश ६ र ७ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस