९ बैशाख २०७८, बिहीबार

ओलीले कम्युनिष्ट पार्टी नै खतम गर्न खोजे :युवराज ज्ञवाली

बुटवल, १० माघ । नेकपा प्रचण्ड नेपाल समूहका नेता युवराज ज्ञवालीले केपी ओलीले कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरेको आरोप लगाएका छन्।

बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री केपी ओली नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमै राष्ट्रघाती र प्रतिगमनकारी व्यक्तिको रुपमा स्थापित भएको बताएका छन।

कम्युनिष्ट पार्टीमा चरम गुटबन्दी गरेको आरोप लागेका नेता केशरजंग रायमाझीसँग ओलीलाई तुलना गर्दै नेता ज्ञवालीले भने, ‘रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेका हुन्, केपी ओलीले आँफै प्रतिगमन गरेका हुन्, रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र विश्वासघाती हुन्, रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्‍याउन खोजेका छन्।’

प्रचण्ड माधव समूहका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले केपी ओलीले कम्युनिष्ट पार्टी नै खतम गर्न खोजेको भन्दै पार्टी, देश र व्यवस्था बचाउन आफूहरु लागिरहेको बताएका छन। विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात भएको भन्दै उनले प्रधानमन्त्रीका प्रयासलाई असफल पार्ने दाबी गरेका छन।

ज्ञवालीले बिहीबार काठमाडौँमा भएको विरोध सभा सुरुवात मात्र भएको भन्दै यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताएका छन। उनले ओलीको अहंकारको पराजय हुन जरुरी रहेको भन्दै त्यसो सुरुवात भइसकेको बताएका छन।

ज्ञवालीले पार्टी एक नै भए पनि केपी ओलीको नेतृत्वमा अब एकिकृत पार्टी नहुने दाबी गरेका छन। उनले मघ १५ गते बुटवलको पुष्पलालपार्कमा विरोध सभा आयोजना हुने र संविधानको रक्षाका लागि दबाबका कार्यक्रम निरन्तर हुने बताएका छन।

प्रतिक्रिया दिनुहोस