१३ फाल्गुन २०७७, बिहीबार

संसद पुनःस्थापना नगरे मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने छ : भट्टराई

बुटवल, ९ माघ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले यस्तो बताएका हुन । व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरेका छन ।

‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ भट्टराईले भने, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षाको छ ।’

संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले औंल्याएका छन ।

संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको भट्टराईको विश्लेषण छ । ‘सबै कुरा सेटिङमा भएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा सेटिङ भएको छ,’ डा. भट्टराईले भने, ‘अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न, तर अरुले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय, संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर सबै अंग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद विघटन भएको छ ।’

असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस