९ बैशाख २०७८, बिहीबार

लोकतान्त्रिक कांग्रेसको अलोकतान्त्रिक चरित्र

नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रसको महत्वपूर्ण भूमिका रहेको भनेर हरेक जसो कार्यक्रममा दावी गर्दै आएको छ । प्रजातन्त्र र लोकतन्त्रको विकासका लागि भएको मुख्य आन्दोलनहरु, पहिलो जनआन्दोलन २०४६ र २०६२÷६३ को आन्दोलनको नेतृत्व गर्नुका साथै उक्त आन्दोलनको जग बसाउनका लागि गरेको पहल र २०७२ को नेपालको वर्तमान संविधान जारी गर्नका लागि समेत गरेको प्रयासले उसको भूमिकालाई नजरअन्दाज गर्न सकिदैन तर देशमा लोकतन्त्र माथि संकट परेको अवस्थामा क्षणिक लाभमा मोहित हुनुले के कांग्रेस लोकतान्त्रिक पार्टी नै हो त भन्ने प्रश्न उठने गरेको छ । २०७७ पैष ५ मा प्रधानमन्त्री केपी वलीको असंवैधानिक कदमका सन्दर्भमा पार्टीको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न नसक्दा कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि फेरी प्रश्न उठेको छ ।
वर्तमान संविधान जारी गरेसंगै नेपालमा राजनीतिक आन्दोलन सकिएको र आर्थिक विकास र समृद्धि देशको एक मात्र मुद्धा भएको उदघोष भइरहदा नेपाली जनतामा छुट्टै उमंग छाएको थियो । राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेको वहाना बनाइरहेका दलहरुलाइ जनताको माग सम्बोधन गर्दै राजनीतिक स्थिरता कायम राख्न संवैधानिक प्रावधानहरु समेत राखिएको थियो । संसदमा सरकार फेरबदल रोक्न नेकपालाई झण्डै २ तिहाइ बहुमत दिए पश्चात कांगेस प्रतिपक्षमा बसेको छ तर कांगेसले सशक्त प्रतिपक्षको भूमिका कहिले निर्वाह गर्न सकेन । सभापति शेर बहादुर देउवा १÷२ वटा राजनीतिक नियुक्तिमा चित्त बुझाएर बसेका छन । संसदमा गगनको गनगन र प्रवक्ता विश्व प्रकाश शर्माको प्रेस विज्ञप्ती बाहेक अरु संसद र नेताहरु भूमिगत जस्तै भएका थिय ।
सरकार बनेको ३ बर्ष सम्म प्रतिपक्षको धर्म विर्षेर गुपचुप रहेको कांग्रेसलाइ तनहुमा एउटा पुल उदघाटनका क्रममा वरिष्ट नेता रामचन्द्र पौडेल माथी भएको धरपकटले ब्यूझाउने काम गर्यो नत्र उसले सडक आन्दोलन नै भूलिसकेको थियो । त्यसपछि बल्ल कांग्रेस निन्द्राबाट उठेको हो ।
प्रधानमन्त्रीको पछिल्लो असंवैधानिक कदम पश्चात कांग्रेस आन्दोलनमा उत्रेको छ तर उसले अवको बाटो निर्वाचन की संसद पुर्नस्थापना स्पष्ट किटान गर्न सकेको छैन । वरिष्ट नेता रामचन्द्र पौडेल र उनको खेमाका नेताहरु प्रधानमन्त्रीको कदम असंवैधानिक भएको र संसद पुर्नस्थापना गरेर प्राप्त उपलब्धि संरक्षण गर्नुपर्ने माग गरिरहेका छन । अर्को तर्फ सभापति शेर बहादुर देउवा आन्दोलन पनि गर्ने र प्रधानमन्त्रीसंग सत्ता साझेदारी पनि गर्ने नीति अवलम्बन गरेका छन ।
आफैले लडेर ल्याएको संविधान माथि आक्रमण हुँदा हुदा पनि स्पष्ट एजेण्डा सहित आन्दोलनमा जान सकेको छैन । दोस्रो पुस्ताका नेताहरु र युवा नेताहरु पनि सभापतिको पछि लागेर लोकतन्त्र र संविधानको संरक्षणमा आवाज उठाउन नसक्नुले लोकतन्त्र स्थापना र वर्तमान संविधान जारी गर्नका लागि कांग्रेसले गरेको योगदान बाग्मतीमा बगेको ढल जस्तै भएको छ । लोकतान्त्रिक पार्टी कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमको वचाउतिर लाग्यो भने नागरिकले चाहे जस्तो राजनीतिक स्थिरता र विकास हुने कुरा कल्पनामा मात्र सीमित हुने कुरामा कुनै २ मत छैन । साथै, यो कदमबाट कांग्रसले केही समय सत्ताको स्वाद चाख्न त पाउला तर आगामी दिनमा जनताले पनि राम्रो मूल्यांकन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस