९ बैशाख २०७८, बिहीबार

देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने अवस्थामा

काठमाडौं, ७ माघ । कोरोना भाइरस सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा रहेका छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आंकलन छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताएका छन । विगत १० महिनादेखि विद्यालय बन्द भएको र भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उनको तर्क छ ।

हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघ महिनाभरिमा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण आउने पुरीले बताएका छन । आफूहरूले पनि विवरण अद्यावधिक गर्न पहल गरिरहेको उनले जानकारी दिएका छन ।

बन्द हुने अवस्थामा रहेका धेरै विद्यालयले सरकार तथा निजी विद्यालयका संस्थालाई जानकारी दिंदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण आफूखुसी बन्द गर्ने क्रम देखिएको उनले बताएका छन ।

निजी विद्यालयका सञ्चालकहरूका अनुसार विद्यालय बन्द हुने समस्या काठमाडौँ उपत्यकामा धेरै हुनेछ । तुलनात्मक रूपमा काठमाडौं उपत्यका भन्दा बाहिर निर्बाध रूपमा विद्यालय सञ्चालन भएको तर उपत्यकामा १० महिनासम्म विद्यालय बन्द भएका कारण समस्या भएको जनाइएको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस