७ बैशाख २०७८, मंगलवार

‘बालुवाटारतिर मान्छे जानै डराउँछन्, पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् : माधव नेपाल

दाङ, ४ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् ।

कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुगेका नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैंमा झमेला भइसकेको बताएका छन । ‘बालुवाटारतिर मान्छे जानै डराउँछन् । पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ’, नेपालले भने ।

ओलीले केन्द्रीय सदस्य मनोनित गरेका मध्ये दुई सय जनाले अस्वीकार गरिसकेको नेपालले बताएका छन । एक सयको हाराहारीमा रहेकाहरुले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालले बताएका छन । ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने’, नेपालले भने ।

ओलीमा आफू महाराजा बनेको र भारदारहरुबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको नेपालले बताएका छन । विधि, विधान र संविधान नमान्ने ओलीले आफूले जे गर्‍यो, त्यही कानुन भन्ने अहंकार रहेको उनको भनाइ थियो । तर एकदिन नाङ्गो राजाको अवस्था आउने उनको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस