
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, ३ माघ । हाल देशभरको मौसममा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।
हाल प्रदेश १ का पहाडी भू–भागको मौसममा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
देशका तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागहरूका साथै सुदूरपश्चिम प्रदेशका तराइका भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।
ती प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।