९ माघ २०७७, शुक्रबार

श्रीलंका र इंग्ल्यान्डबीच टेस्ट सुरु

श्रीलंका, १ माघ । टेष्ट च्याम्पियनसीप अन्तर्गत श्रीलंका र इंग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गाले अन्तर्राष्ट्रिय स्टेडियममा बिहीबारदेखि सुरु भएको छ ।

टस जितेर ब्याटिङ थालेको श्रीलंकाले पहिलो दिनको पहिलो सत्रमा ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ । इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए ।

श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डिमलले गरेका छन् ।

एन्जेलो म्याथ्युज (१७) र कप्तान चन्डिमल (२२) बीच अविजित ४० रनको साझेदारी भएसँगै श्रीलंकाले भोजन समयसम्म ६५ रन बनाएको छ ।

इंग्ल्यान्डका बलर ब्रोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने ४ र कुसल मेन्डिसलाई शून्य रनमा आउट गरेका थिए ।

गत मार्चमै हुनुपर्ने यो टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो । यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन ।

यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ । दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस