८ बैशाख २०७८, बुधबार

संसद विघटनविरुद्धका रिट माथि संवैधानिक इजलासमा सुनुवाइ सुुरु

काठमाडौं, २९ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुुरु भएको छ । रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद कायमै छ ।

आजको सुनुवाइ सुरु हुनुभन्दा अगाडि रिट निवेदक तथा नेकपाका नेता देव गुरुङ पनि सर्वोच्चमा पुगेका छन् । यसअघिका सुनुवाइमा वकिलहरुमात्रै उपस्थित रहेकामा आज निवेदक गुरुङ आफै पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । यसबारे कहाँ सुनुवाइ हुने भन्ने आज तय हुनेछ ।

यसबीचमा संवैधानिक इजलासको रिक्त न्यायाधीशमा सपना प्रधान मल्ल तोकिएकी छन् । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनको स्थानमा आज मल्ल तोकिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस