९ माघ २०७७, शुक्रबार

मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ३१ लाख जमानत जफत, शैलुङलाई तेस्रो पटक कारबाही

काठमाडौं, २७ पुस । रासायनिक मलका २ वटा ठेक्का अलपत्र पार्ने मुक्तिनाथ कृषि कम्पनी र यसअघि २ वटा ठेक्कामा कारबाही भोगिसकेको शैलुङ इन्टरप्राइजेजलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ। शैलुङले मलको ठेक्कामा कारबाही भोगेको यो तेस्रोपटक हो। 

कृषि सामग्रीले ती दुई कम्पनीसँगका ठेक्का सम्झौता रद्द गर्दै जमानत जफत र कालोसुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक नेत्रबहादुर भण्डारी भने शैलुङ इन्टरप्राइजेजको तेस्रो ठेक्का र मुक्तिनाथका २ वटा ठेक्काको एकसाथ कारबाही प्रक्रिया अगाडि बढाइएको हो। 

मुक्तिनाथ कृषि कम्पनीले युरिया मलको ठेक्कामा राखेको ३ लाख ९९ हजार अमेरिकी डलर र डिएपीको ठेक्कामा राखेको ३ लाख ९७ हजार अमेरिकी डलर बराबरको जमानत जफत गरिएको हो।

सोमबारको विदेशी विनियम दरअनुसार उक्त जमानत रकम ९ करोड ३१ लाख ३२ हजार रुपैयाँ बराबर हुन जान्छ। त्यस्तै शैलुङको ४ लाख २ हजार ५ सय अमेरिकी डलर अर्थात ४ करोड ९२ लाख रुपैयाँ बराबर जमानत जफत भएको छ। 

मुक्तिनाथ कृषि कम्पनीले २५ हजार मेट्रिन टन युरिया र समान २५ हजार मेट्रिक टन डिएपी गरि ५० हजार मेट्रिक टन बराबरका २ वटा ठेक्का अलपत्र पारेको थियो। 

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथ कृषि कम्पनीसँग गत साउन १८ गते (२ अगस्ट २०२०) मा रासायनिक मलको आपूर्तिका लागि ती दुई वटा सम्झौता गरेको थियो।

ठेक्का सम्झौता भएको मितिबाट १ सय ७ दिनभित्र अर्थात् गत मंसिर पहिलो साता नै मल नेपाल आइसक्नुपर्ने हो। तर उक्त कम्पनीले मल ल्याउन सकेन। समयमा मल नआएपछि कृषि सामग्री कम्पनीले कारबाही गरेको हो।

प्रतिक्रिया दिनुहोस