
अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु
एजेन्सी, २५ पुस । भारतको महाराष्ट्रस्थित जिल्ला अस्पतालमा भीषण आगलागी हुँदा १० जना नवजात शिशुहरुको मृत्यु भएको छ ।
गएराती २ बजे विद्युत शर्ट सर्किट हुँदा आगलागी भएको हो ।
अस्पतालका सिभिल सर्जन डा.प्रमोद खंडातेका अनुसार १७ जना नवजात शिशुहरु राखिएको अस्पतालको बच्चा वार्डबाट गएराती धुँवा आएको देखिएपछि आगलागी भएको थाहा भएको थियो ।
विद्युत शर्ट सर्किटका कारण अस्पतालको सिक न्युबर्न केयर युनिटमा आगो लागेको बताइएको छ ।
धुँवा आएको देखेपछि नर्स र अस्पतालका अन्य कर्मचारीहरु वार्डमा पुग्दा १० जना शिशुहरुको मृत्यु भैसकेको थियो ।
अग्नी नियन्त्रकहरु तथा अन्य उद्धारकर्मीहरुको सहयोगमा ७ जना शिशुहरुको जिवितै उद्धार गरिएको छ ।
यो वार्डमा तौल निकै कम भएका तथा गम्भीर स्वास्थ्य अवस्था भएका शिशुहरुलाई मात्रै राखिन्छ ।
मृत्यु भएका नवजात शिशुहरुका परिवारले अस्पतालको लावरवाहीका कारण घटना भएको भन्दै छानविनको माग गरेको न्युज एजेन्सी एएनआइले जनाएको छ ।