८ बैशाख २०७८, बुधबार

सर्वोच्चले संशोधन गर्‍यो भने यो संविधान कागजको खोस्टामा परिणत हुन्छ : नारायणकाजी

काठमाडौं, २४ पुस । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । तर सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गर्‍यो भने संविधान नै कागजको खोस्टामा परिणत हुने उनको चेतावनी छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले संविधानको ठाडो उल्लंघन गरेर प्रतिनिधिसभा विघटन गर्ने कदम चालिएको बताएका छन। ‘तत्कालको प्रतिगामी कदम मात्र होइन, समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने शंका पैदा भएको छ,’ उनले भने ।

राजनीतिक स्थिरता कायम गर्न संसद भंग गर्न नदिने भनेर राष्ट्रिय राजनीतिक सहमतिका साथ संविधान बनेको र प्रधानमन्त्रीलाई विशेषाधिकार नदिइएको उनले बताएका छन । धारा ७६ मा दिइएको कुनै पनि विकल्पबाट पनि सरकार बन्नै सकेन भने मात्र संसद विघटन हुने संविधानले परिकल्पना गरेको भन्दै उनले यो अधिकार नभई दायित्व भएको बताएका छन ।

अदालतबारे नारायणकाजी श्रेष्ठको भनाइ जस्ताको तस्तै :

जहाँसम्म सर्वोच्च अदालतको प्रश्न छ यो सम्मानित सर्वोच्च अदालतमा यो विचाराधीन छ । सविंधान अनुसार सर्वोच्च अदालतले निर्णय गर्ने हो । शक्ति पृथकीकरणको सिद्धान्तअन्तर्गत सविंधानले जिम्मेवारीहरु संवैधानिक अंगलाई दिएको छ। संवैधानिक अंगहरुको भूमिकाप्रति स्वच्छ, उनीहरुको कामकारबाहीप्रति स्वतन्त्र भूमिकाप्रति हामी विश्वस्त छौँ। तर एउटा कुरा प्रष्ट छ, सर्वोच्च अदालतले पनि सविंधानकै आधारमा टेकेर फैसला गर्ने हो, सविंधान बाहिर गएर हैन ।

सर्वोच्च अदालतलाई हाम्रो सविंधानले सविंधान संशोधन गर्ने अधिकार दिएको छैन । संविधानअन्तर्गत मात्रै फैसला गर्ने अधिकार दिएको छ । र, त्यसको साथसाथै  सर्वोच्च अदालतले संविधान संशोधन यो मात्रै विषयमा गर्‍यो भने यो संविधान कागजको खोस्टामा परिणत हुन्छ । संविधानमा हुँदै नभएको प्रावधानको कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला सर्वोच्च अदालतले गर्‍यो भने यो कागजको खोस्टा परिणत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ । र, समग्र व्यवस्थामाथि प्रहार हुन्छ । र, समग्र व्यवस्था उल्टिने, प्रतिगमनको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै पनि हालतमा सह्य हुन सक्दैन । त्यसैले संविधानसम्मत ढङ्गले अदालतले फैसला गर्नुपर्छ । गर्नेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस