९ माघ २०७७, शुक्रबार

सिंगटी हाइड्रोले माघ ४ देखि आइपिओ निष्काशन गर्ने

काठमाडौं, २४ पुस । सिंगटी हाइड्रो इनर्जीले पहिलो चरणमा माघ ४ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ। कम्पनीले दोलखा जिल्लाको अति प्रभावित क्षेत्र लिगु र कालिञ्चोक गाउँपालिकाका बासिन्दाका लागि सेयर निष्काशन गर्ने भएको हो। 

प्राथमिक सेयर छिटोमा माघ १८ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म बिक्री खुला राख्नेछ। यदि प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद नगरेमा उक्त सेयर सर्वसाधारणका लागि जारी गर्न सक्ने छ। प्रभावित बासिन्दाले दोलखा जिल्लामा शाखा कार्यालय रहेका मेगा बैंक, सेञ्चुरी बैंक र नेपाल बैंकबाट आवेदन दिन सक्ने छन्। 

कम्पनीले पुस २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रभावित र सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैयाँको प्राथमिक सेयर निष्काशन अनुमति पाएको थियो। कम्पनीले दोलखामा २५ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण गरेको छ। 

कम्पनीको सेयर पुँजी संस्थापकको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत रहनेछ। सर्वसाधारणतर्फको सेयर निष्काशनपछि कम्पनीको पुँजी एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ। 
आयोजनाको जम्मा लागत ४ अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तर व्याज पुँजीकरणसहित भने कम्पनीको प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस