२ माघ २०७७, शुक्रबार

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार

झापा, २३ पुस । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ ।

पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५र१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिएका छन ।

सङ्खुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौं लगेर राखेको अनुसन्धानका क्रममा खुलेको छ ।

शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ । उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको छ ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनौँ चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गत मङ्सिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दशजना किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस