११ माघ २०७७, आईतवार

भेनेजुएलाको संसदका सदस्यहरुले लिए सपथ

एएफपी, २२ पुस । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको नयाँ संसदका सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् । संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ ।

विपक्षी नेता हुँवा गुएइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग भएका छन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नयाँ संसदको निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाको आधिकारिक राष्ट्रपति गुएइदो रहेको जनाएको छ ।

मन्त्री पोम्पेओले भने, “नयाँ संसद गैरकानुनी छ र यसलाई अमेरिकाले बैधानिक मान्दैन ।”

संसदको नयाँ निर्वाचन परिणामलाई अमेरिका सहित ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि मान्यता नदिने जनाएका छन् ।

दक्षिण अमेरिकाका एक दर्जन मुलुक र क्यानाडासमेत सहभागी रहेको लिमा समूहका सदस्यहरुले भेनेजुएलामा सम्पन्न संसदीय निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई अस्वीकार गर्ने जनाएका छन् ।

नेसनल एसेम्ब्लीको कूल २ सय ७७ स्थानमध्ये २ सय ५६ स्थानमा राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र यसको गठबन्धन दलले जितेको छ । भेनेजुएलामा गत डिसेम्बर ६ मा संसदका लागि निर्वाचन भएको थियो जसलाई विपक्षी दलहरुले बहिस्कार गरेका थिए ।

नेसनल एसेम्ब्लीको कार्यकाल पाँच वर्षको हुन्छ । यसअघि यस सभामा विपक्षीको बहुमत रहेको थियो, र विपक्षी नेता गुएइदो सन् २०१९ देखि सभामुख थिए ।

गुएइदोले विपक्षी सांसदहरुलाई समेटेर समानान्तर छायाँ संसद बनाउने योजना बनाएका छन् । उनलाई विश्वका झण्डै ५० वटा मुलुकले भेनेजुएलाका आधिकारिक राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् ।

राष्ट्रपति मदुरोमाथि मतदानमा धाँधली गरेको आरोप लाग्दै आएको छ ।

संसदमा यसअघि विपक्षीको बहुमत रहेपनि संसदले गर्ने हरेक निर्णयलाई मदुरोको प्रभावमा रहेको सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस