९ माघ २०७७, शुक्रबार

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदै

कास्की, २१ पुस । आजदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन आज बोलाइएको हो ।

विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने बताइएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनसरोकारका विषयमा छलफल आवश्यक रहेकाले विशेष अधिवेशन माग गरिएको बताएका छन ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् । तीमध्ये ओली पक्षमा २७ र प्रचण्ड–माधव नेपाल पक्षका १२ जना छन्  । त्यस्तै नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् । जनमोर्चाले मुख्यमन्त्री गुरुङलाई साथ दिएकाले सरकार सुरक्षित छ । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ केपी शर्मा ओली निकट हुन् ।

प्रतिक्रिया दिनुहोस