८ माघ २०७७, बिहीबार

ट्रम्पले जर्जियाका उच्च अधिकारीलाई धम्क्याएको फोन वार्ता सार्वजनिक

एजेन्सी, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतपरिणामलाई प्रभाव पार्न अन्तिम समयसम्म पनि प्रयास गरेको खुलासा भएको छ । नोभेम्वर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यको मत परिणामलाई प्रभाव पार्न उच्च अधिकारीहरुसंग भएको फोन वार्ता बाहिरिएपछि यस्तो खुलासा भएको हो ।

ट्रम्पले गत शनिबार जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरलाई गरेको एक घन्टा लामो फोन वार्ता सार्वजनिक भएको हो ।

उक्त फोन वार्तामा ट्रम्पले ब्राडलाई आफूले जम्मा ११ हजार ७ सय ८० मत चाहेको बताएका छन्। जर्जिया यसअघि रिपब्लिकनहरूले जित्दै आएको राज्य हो। सन् १९९२ पछि यसपालि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पहिलो पटक जर्जियाको मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुन ।

उनले २४ लाख ७३ हजार ६ सय ३३ मत पाएका थिए भने ट्रम्पले २४ लाख ६१ हजार ८ सय ५४ मत ल्याएका थिए। ११ हजार ७ सय ८० मत थपेर ट्रम्प बाइडेनको भन्दा आफ्नो एक मत बढी बनाउन चाहन्छन्।

जर्जियामा १६ इलेक्टोरल कलेज भोट छन्। नोभेम्बर ३ को निर्वाचनबाट बाइडेनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २३२ भोट पाएका छन्।

फोन वार्ताका क्रममा रिपब्लिकन पार्टीका नेतासमेत रहेका राफेन्सपर्जरले ट्रम्पलाई सम्झाउन खोज्छन्। उनले ट्रम्पलाई ‘मिस्टर प्रेसिडेन्ट, तपाईंसँग भएको तथ्यांक सही छैनु भन्दा ट्रम्पले घरि घरि थर्काउने, घरि घरि धम्क्याउने र घरि घरि अनुनय–विनय गरेका छन ।

उनले आफूले लाखौं भोट ल्याएकाले जर्जियामा हार्न नचाहेको कुरा पटक–पटक दोहोर्‍याएका छन्।

डेमोक्र्याटिक पार्टीका नेताहरूले भने ट्रम्पले ह्वाइट हाउसमा बसेर पद र शक्तिको दुरूपयोग गरेकाले उनीविरूद्ध अनुसन्धान हुनु पर्ने माग गरेका छन्।

अमेरिकाका सबै राज्यहरूले राष्ट्रपति चुनावको अन्तिम परिणाम पठाइसकेका छन्। बुधबार राष्ट्रपति चुनावको अन्तिम परिणाम सार्वजनिक हुँदैछ।

राष्ट्रपति निर्वाचित बाइडेनले २० जनवरीमा सपथ लिनेछन्।

ट्रम्पले सुरूदेखि नै चुनावमा धाँधली भएर आफूले हारेको दाबी गर्दै आएका छन्। उनको अभियानले विभिन्न राज्यका अदालतमा धाँधली भएको भन्दै हालेका मुद्दाहरू खारेज भैसकेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस