११ माघ २०७७, आईतवार

मुक्तिनाथ मन्दिर मंगलबारदेखि खुला गरिने

काठमाडौं, १९ पुस । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने भएको छ।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नौ महिनादेखि बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले मन्दिर खुलाउने निर्णय गरेको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिएका छन।

मन्दिर खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने भएकाले म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन्। कोरोना कहरका कारण नौ महिनासम्म बन्द रहेका म्याग्दी र मुस्ताङका पर्यटन तथा धार्मिक क्षेत्रहरू खुल्न थालेपछि व्यवसायले निरन्तरता पाउने आशा गरेको म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले बताएका छन।

मुस्ताङका होटल व्यवसायी एवं होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले मुस्ताङका पर्यटकीय स्थल तथा मुक्तिनाथ मन्दिर खुला भएपछि यहाँको होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास व्यक्त गरेका छन।

उनका अनुसार मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्नसक्ने क्षमता रहेको छ। यस्तै, हरेक दिन सात सय जनासम्म विदेशी पर्यटक मुक्तिनाथका होटलहरूमा रहन सक्ने अवस्था रहेको पनि उनले बताएका छन।

प्रतिक्रिया दिनुहोस