९ बैशाख २०७८, बिहीबार

पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशन माघमा

काठमाडौं, १८ पुस । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते गरिने भएको छ। करिब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शान्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न तथा सहुलियत गराउनसमेत सरकारसँग माग गरेको जनाइएको छ। 

शाखाले कोभिड–१९ को समयमा कुनै पनि सञ्चारकर्मीलाई निष्कासन नगर्न, उनीहरुलाई समयमै तलब उपलब्ध गराउन सञ्चारगृहलाई आग्रह गरेको छ । शाखाका पूर्वअध्यक्ष स्व अशोक श्रेष्ठलगायत वरिष्ठ पत्रकारको स्मृतिमा स्थापना गरिएका १० वटा पुरस्कार अधिवेशनमा वरिष्ठ पत्रकारलाई दिने निर्णय गरिएको छ।  

सञ्चार क्षेत्रको विकास तथा सञ्चारकर्मीको श्रीवृद्धिका लागि विभिन्न तालीमको व्यवस्था गर्दै आएको उक्त शाखाले लकडाउनका समयमा पत्रकारलाई सहयोग गरेको थियो। विपतका समयमा पत्रकारलाई आर्थिक सहायता गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा हाल दुुई लाख रुपैयाँ संकलन भएको र केही बिरामी सञ्चारकर्मीलाई त्यसबाट सहयोग गरिएको अध्यक्ष विडारीले जानकारी दिएका छन।

यही पुस १७ गते दिवंगत भएका वरिष्ठ पत्रकार चक्रपाणि नेपालको स्मृतिमा चाँडै पुरस्कार स्थापना गरिने उपाध्यक्ष सूूर्य सुवेदीले जानकारी दिएका छन। रासस 

प्रतिक्रिया दिनुहोस