९ बैशाख २०७८, बिहीबार

नेकपा विभाजन हुँदा मेरो मुटु फुटेको छ : दीनानाथ शर्मा

काठमाडौं, १७ पुस । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।

‘मेरो राजनीतिक इतिहासको ५५/५६ वर्षको इतिहासमा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुशी थिएँ । हामी सबै खुशी थियौँ । खुशी नहुने कोही पनि थिएनन् । नेपाली जनता खुशी भएका कारण त्यो खुशी निर्वाचनमा अभिव्यक्त भएको थियो’, नेता शर्माले भने, ‘आज पार्टी विभाजनको संघरमा आउँदा मेरो मुटु फुटेको अनुभव भएको छ ।’

शर्माले इतिहासमा नेपालका कम्युनिस्ट पार्टी फुटेको तर अहिले बढी पीडा भएको बताएका छन । ‘हामी धेरै पटक फुट्यौँ र जुट्यौँ विगतमा यत्ति धेरै दुःख प्रकट गरेको थिइन । यसले बढी पीडा भएको छ’, शर्माले भने, ‘मैले यहाँ अनुहार हेरेको छु र मुटु छामेको छु । सबैका अनुहार उदासिन र मलिन छन् । म मौन मनोविज्ञानलाई पढिराखेको छु । इतिहासको यो क्षणमा हामी विभाजित भएका छोँ तर अझै पनि हामी एक हुने समीकरण र रसायन भए त्यसबाट जोड्न सकिन्छ भने त्यसमा हाम्रो प्रयत्न हुनेछ।’

राष्ट्रियसभाको सातौं अधिवेशन शुक्रबारबाट प्रारम्भ गरेकोप्रति राष्ट्रियसभा सदस्य शर्माले सरकार र राष्ट्रपतिलाई धन्यवाद दिँदै यस्तो बताएका हुन् । प्रतिनिधिसभा नभएको अवस्थामा सातौं अधिवेशनको बैठक चल्दा यसको महत्व र गरिमा उच्च भएको उनले बताएका छन ।

‘राष्ट्रियसभा राष्ट्रको एउटा विशिष्ट अवस्थामा सञ्चालन हुन गइराखेको छ । हाम्रो पार्टी विभाजनको संघारमा छ । औपचारिक घोषणा नभए पनि विभाजनको संघारमा छ । अर्कोतर्फ प्रतिनिधिसभा छैन । प्रतिनिधिसभाको विघटन भएको छ । पार्टी विभाजन र प्रतिनिधिसभा विघटनाको राष्ट्रिय राजनीतिको यो घडीमा हामी राष्ट्रियसभामा उपस्थित भएका छौँ’, शर्माले भने, ‘पार्टी विभाजन राजनीतिक स्वार्थका कारण भएको छ । यसले कसैलाई फाइदा गर्दैन ।

नेता शर्माले उखु किसानको अन्दोलनको क्रममाा एक उखु किसानको मृत्यु भएको सम्झना गरेका छन । नारायण राय यादवको मृत्युप्रति श्रद्धाञ्जलि दिँदै नेता शर्माले परिवारजनप्रति समवेदना व्यक्त गरेका छन ।

नेता शर्माले हिजोका दिनमा संसद र सदन चलाएको र अहिले त्यही रुपमा राष्ट्रियसभा संयमित रुपले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले यसको गरिमा र मर्यादा राख्नेमा हिजोका दिनमा जस्तै योगदान र सहयोग हुने उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस