३ जेष्ठ २०७८, सोमबार

नेपाली सेनाका एक अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

युके, २८ मंसिर । बेलायतमा नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । नेपाली सेनाका सेकेन्ड लेफ्टीनेन्ट २१ वर्षीय पिटर थापाले बेलायतको स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन वापत ‘इन्टरनेशनल सोर्ड अफ अनर’ नामक अवार्ड पाएका हुन् ।

२० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको पहिलो अवसर रहेको बताइएको छ । विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ साताको प्रशिक्षण समापनका क्रममा थापालाई शुक्रबार सो अवार्ड दिइएको हो । बेलायती महारानीको प्रतिनिधित्व गर्दै आएका जनरल सर प्याट्रिक स्याण्डर्सले सोभरिन परेडका क्रममा उक्त अवार्ड प्रदान गरेका छन ।

यससंगै थापाले प्लाटुन कमाण्डर पास समेत पाएका छन् । ब्रिटिश अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलो पटक दिइएको थापाले बताएका छन ।

थापा कुनै पनि बेला यहां आएर स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा ब्रिटिश क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्ने बेलायतस्थित अनलाइन नेपाली लिंकले लेखेको छ । ‘

यो मेरो मात्र भन्दा पनि नेपाली सेना र नेपालका लागि नै गर्वको कुरा हो’ अवार्ड पाएपछि थापाले भने, ‘यसले देश र जनताको रक्षार्थ नेपाली सेनामा थप जिम्मेवार भएर लाग्न प्रेरित गरेको छ ।’

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए ।

२ वर्ष अघिमात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले वर्ष दिनको कोर्षमा आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताएका छन ।

थापा आगामी जनवरीदेखि ब्रेकनमा हुने तीन महिने प्लाटुन कमाण्डर ब्याटल कोर्समा सहभागी हुनेछन् ।

0
Would love your thoughts, please comment.x
()
x