७ कार्तिक २०७७, शुक्रबार

संसारभर प्रतिबन्धित क्राउडवानले नपालीलाई ठग्नु सम्म ठग्यो

0

काठमाडौं । संसारभर प्रतिबन्ध लगाइएको क्राउडवान नाम नेटवर्किङले नेपालीलाई ठग्नु सम्म ठगेको छ । गैरकानुनी रूपमा पिरामिड शैलीको पोन्जी स्किम चलाएको भन्दै संसारका विभिन्न मुलुकमा प्रतिबन्धित ‘क्राउडवान’ नामको नेटवर्किङ व्यवसायले नेपाली जनताको करिब ३ अर्ब रुपैयाँ ठगी गरिसकेको अनुमान गरिएको हो । शैक्षिक प्याकेज बिक्री गर्ने भन्दै गैरकानुनी कारोबारमा संलग्न क्राउडवान (सिवान) मा हालसम्म करिब २ लाख नेपाली आबद्ध भइसकेका छन् । जसमा नेटवर्क मार्केटिङमा आबद्धहरू विदेशमा बसेर नेपालमा क्राउडवानको सञ्जाल चलाइरहेको पाइएको छ ।

यसमा एक ब्यक्तिले १४ हजार रुपैया नेपाली रुपैया खर्च गरेवापत आकर्षक प्रतिफल पाइने लोभ देखाइएको थियो । जसमा एकै ब्यक्तिबाट साढे ३ लाख रुपैया सम्म ठगी गरि उनीहरुलाई यस बिजनेसमा लगाइएको पाइएको छ । प्याकेज खरिद गर्नेहरूले आफूभन्दा मुनि समूहमा नयाँ सदस्य प्रवेश गराएपछि त्यसबापत आम्दानी हुने प्रणाली विकास गराइएको छ । यस्ता सदस्यहरूले प्रतिव्यक्ति ९९ युरोका हिसाबले कम्तीमा पनि २ अर्ब ७० करोड रुपैयाँ लगानी गरिसकेका छन । यस बिजनेसमा लागेका हरुलाई विभिन्न तालिम दिन भन्दै जुम मार्फत बैठक पनि गर्ने गरिएको छ । जसमा व्यक्तित्व विकास, नेटवर्किङ मार्केटिङलगायतका विषय रहने गरेका छन्  ।

यसमा ह्वाइट, ब्ल्याक, गोल्ड र टाइटानियम चारवटा प्याकेज रहेका छन् । ह्वाइट प्याकेजको ९९ युरो (करिब १४ हजार रुपैयाँ), ब्ल्याकको २ सय ९९ युरो (करिब साढे ४१ हजार), गोल्डको ७ सय ९९ युरो (करिब १ लाख १० हजार रुपैयाँ) र टाइटानियमको २ हजार ४ सय ९९ युरो (करिब साढे ३ लाख रुपैयाँ) शुल्क लिइएको छ । प्याकेज लिएका ब्यक्तिले १४ दिनभित्र कम्तीमा दुईदेखि चार सदस्य थप्नुपर्छ । यसो गरेको खण्डमा आफुले बोनस पाइन्छ । यस्तो प्याकेज बेच्दा हुने भुक्तानी नेपालभित्रकै बैंक, इ–वालेट, फोन पे लगायतबाट हुने गरेको प्रयोगकर्ताहरू बताउँछन् । यो कम्पनी संसार भर प्रतिबन्ध रहेको छ । नेपालमा भने कोरोनाभाइरस महामारीकोे कारण लगाइएको लकडाउनको कारण यस्ता ठगहरु सलबलाउन पाएका हुन् । घरमै बसी पैसा कमाउन सकिने भन्दै नेपालीहरु यस बिजनेसमा लागेका थिए । पछि यो बिजनेस ठगी धन्दा भएकोे थाहा पाएपछि भने बल्ल केही नेपालीहरुको होस खुल्यो । अरु ब्यक्तिलाई यस बिजनेसमा लगाउन सकेको खण्डमा केही ब्यक्तिहरुले आम्दानी गरेको पनि बताउँछन् । क्राउडवानले मुलुकबाट करिब ३ अर्ब रुपैयाँ ठगी गरिसकेको भए पनि नेपालमा सरोकारवालाहरुलाई भने वास्ता छैन् । यस प्रकारका ठगीका काममा संलग्न भएका केही ब्यक्तिहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको भएपनि मुख्य अभियुक्तहरु पक्राउ सकेको देखिएको छैन ।

Facebook Comments
0