१० कार्तिक २०७७, सोमबार

बिपीको भेन्टिलेटर तीन महिनामै बिग्रियो, अख्तियारले थाल्यो अनुसन्धान

0

कृष्ण बहाब, धरान,२७ असोज ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष अस्पतालको लागि खरिद गरिएको भेन्टिलेटर ३ महिना नपुग्दै बिग्रिएका छन् । कोरोना भाइरस (कोभिड १९) को उपचार व्यवस्थापन गर्न सङ्घीय सरकारले उपलब्ध गराएको १२ करोड रुपैयाँ मध्येबाट बिपीमा खरिद गरिएको भेन्टिलेटरले काम गर्न छोडेको हो ।
महामारीको बेला भेन्टिलेटरहरू ३ महिना पनि नपुग्दै बिग्रिए पछि भ्रष्टाचारको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । कोभिड अस्पतालको विभिन्न समान खरिदमा भएको अनियमितताको सम्बन्धमा छानबिन तथा आवश्यक जानकारी लिन हिजो सोमबार इटहरीस्थित अख्तियार कार्यालयबाट ४ जना अधिकारीहरू प्रतिष्ठान आएका थिए ।
अख्तियारको टोलीले अस्पतालका अधिकारीहरूसँग कोभिड अस्पताल र भेन्टिलेटरको खरिदबारे आवश्यक जानकारी लिएको थियो । अख्तियार स्रोतका अनुसार चार जनाको टोलीले अस्पतालका निर्देशक प्रा.डा.गौरीशङ्कर साहसँग कागजपत्र मागेका थिए ।
कोभिड नियन्त्रणको लागि पहिलो चरणमै सङ्घीय तथा प्रदेश सरकारको करोडौँ खर्चिएर तयार गरेको कोभिड अस्पताल सुरुवातदेखि नै विवादमा परेको थियो । कोभिड अस्पतालको औषधी, मेशिन तथा उपकरणहरू खरिदमा व्यापारीसँगको मिलेमतो गरेर अनियमितता भएको आरोप यतिबेला अस्पतालका पदाधिकारीहरू माथि छ ।
केहिदिन अगाडी मात्र अस्पतालमा जडान भएका नयाँ भेन्टिलेटरहरू बिग्रिएको विषयमा नेकपा धरानले ध्यानाकर्षण गरेको थियो । सिकिस्त सङ्क्रमितहरूले उपचारबाट वञ्चित हुनु परेको विषयमा नेकपा धरानले तत्काल सेवा, सुविधा सुधार गर्न प्रतिष्ठानलाई दबाब दिएको थियो ।
प्रतिष्ठानले कोभिड अस्पतालमा जडान गरेको ९ वटा नयाँ भेन्टिलेटरमध्ये हाल २ वटा मात्र सञ्चालनमा रहेको छ । जसले गर्दा गम्भीर अवस्थामा संक्रमित बिरामीहरूले ज्यान गुमाउन बाध्य भइरहेका भन्दै अस्पतालमा नेकपाका धरान नगर इन्चार्ज चोत्लङको नेतृत्वमा गएको टोली पुगेको थियो ।
कोरोना नियन्त्रणको बेला प्रतिष्ठानको उपकुलपति र उनको सचिवालय भने औषधी र विभिन्न सामग्री खरिदमा व्यापारीसँग मिलेमतो र कमाऊ धन्दामा व्यस्त भएको आरोप लाग्दै आएको छ । धरानका एक ग्रिल उद्योगीले उपकुलपतिका स्वकीय सचिव भट्टराईले खाली बिल मागेर लगेको र ४ गुणा बढी रकम प्रतिष्ठानमा पेस गरेर अनियमितता गरेको आरोपसमेत लगाएका थिए ।
भ्रष्ट्राचार बिरुद्द कर्मचारीकै आन्दोलन देखि राजीनामा सम्म
भेन्टिलेटरहरू बिग्रिएको सवालमा यति बेला सञ्चारमाध्यम र सार्वजनिक मञ्चमा समेत छलफल हुन थालेपछि अख्तियारको समेत ध्यान तानिएको देखिन्छ । ३ महिनामै बिग्रिए पछि नक्कली सामानहरू जडान गरेर व्यापक अनियमितता भएको आशङ्का अख्तियारको छ ।
मुख्यमन्त्री शेरधन राई ल्याएर उद्घाटन गरेको यो अस्पताल झन्डै ४ महिनासम्म पनि सञ्चालनमा आउन सकेन । चौतर्फी आलोचना र दबाब भएपछि उद्घाटन भएको ४ महिना पछि सञ्चालन भएको कोभिड अस्पतालको नयाँ भेन्टिलेटरहरू ३ महिना पनि नपुग्दै बिग्रिएको हो ।
उपकुलपति डा.ज्ञानेन्द्र गिरी र उनको सल्लाहकार भनिएका स्वकीय सचिव दिलीप भट्टराई कोभिड अस्पताल सुरु भएदेखि नै फितलो व्यवस्थापन र आर्थिक अनियमिततामा मुछिँदै आएका छन् । मङ्गलवार प्रतिष्ठानमा कार्यरत जुनियर कर्मचारीहरूले धर्ना दिँदै प्रतिष्ठानमा विभिन्न बहानामा हुँदै आएको भ्रष्टाचारको विरोध गरेका थिए ।
आन्दोलनमा आर्थिक रूपमा धराशायी हुँदै गइरहेको प्रतिष्ठानका उपकुलपतिको सल्लाहकार दिलीप भट्टराईलाई १ लाख रुपैयाँ तलब सुविधा दिएको सरकारी गेस्ट हाउस दुरुपयोग गरेको बताउँदै ’एक लाखे सल्लाहकार चाहिँदैन’ भन्दै नारा समेत लगाएका थिए ।
जुनियर कर्मचारीहरूले मात्र हैन कोभिड अस्पतालकी प्रमुखको जिम्मेवारी लिएकी डा.कृष्णा पोखरेलले पनि राजीनामा दिएकी थिइन् । डा. पोखरेलले औपचारिक रूपमा मुख नखोले पनि अस्पतालको विभिन्न औषधी खरिदमा अनावश्यक हस्तक्षेप र दबाब परेकोले कोभिड अस्पताल प्रमुखबाट राजीनामा दिएको बताइएको छ ।
अस्पतालको माग फारामभन्दा बाहिरको र म्याद गुज्रिन लागेको औषधी खरिद गरिएको विषयमा डा.पोखरेल असन्तुष्ट रहेको अन्य चिकित्सकहरूको भनाई छ । चिकित्सक स्रोतका अनुसार उनलाई नयाँ माग फाराम भरेर हस्ताक्षर गर्न व्यवस्थापन पक्षबाट दबाब परेको थियो ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस