५ कार्तिक २०७७, बुधबार

सरकार कहिले सम्म भात खान खुलामञ्चमा पुग्नुपर्ने हो ?

1+

काठमाडौं । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् । यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो । कोरोना संक्रमण सुरु भएयता खुलामञ्चमा हाम्रो टिम नेपालको समूहले स्वतस्फूर्त रूपमा गरिब, असहाय तथा विपन्नसहित सहारा गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।
त्यही भीडमा खाना खाँदै छिन् दोलखा सिंगटीकी ४२ वर्षीया पम्फा थापा । उनी १५ चैतदेखि नै खाना खान खुला मञ्च आइरहेकी छिन् । पम्फाको सहारा तीन र नौ वर्षकी दुई छोरी हुन् । श्रीमान्ले छाडेको धेरै भयो । सानी छोरीको मुटुमा प्वाल छ । किलागलमा भाडाको कोठा छ । त्यहीबाट हरेक महिना छोरीको उपचारमा गंगालाल धाउने उनी भात खान भने खुला मञ्च आउँछिन् ।
‘श्रीमान्ले छाडेको धेरै भयो, सहाराका लागि दुई छोरी छन् । एउटीको मुटुमा प्वाल छ, कोरोनाले पेट पाल्नै नसक्ने अवस्था भयो, महामारी सुरु भएदेखि नै खाना खान खुलामञ्च आउने गरेकी छु,’ थापाले भनिन् ।

खुलामञ्चमा गत चैतबाटै खान खान आउने गरेका अर्का व्यक्ति हुन्, धनबहादुर कार्की । उनी वीर अस्पतालको गेट आसपासमा सधैं र सबैले देखेका अनुहार हुन् । उनी हरेक दिन खाना खान त्यहाँ पुग्छन् । ‘कोरोनाले गर्दा सडकमा भोकभोकै हुनुपर्ने अवस्था आयो, चैतदेखि नै खाना खान यहाँ धाइरहेको छु, भोको पेट भर्न खुलामञ्च सहारा भएको छ,’ उनले भने । यसैगरी, खाना खानकै लागि खुलामञ्च आइरहेकी छिन् सीता चौलागाईं । श्रीमान्ले अर्को महिलासँग सम्बन्ध बनाएपछि उनी पनि सहाराविहीन छिन् । ७ वर्षको छोरा भने साथमै छन् । उनी नजिकैको महांकाल मन्दिरमा बस्छिन् र हरेक दिन छोरासहित खाना खान खुलामञ्च आउँछिन् । बाबुले छाडेदेखि नै जेठो छोराको मानसिक अवस्था ठीक छैन, उसलाई मामाहरूले अस्पतालमा राखिदिएका छन्, श्रीमान्ले यसलाई पनि एक वर्षको हुँदा छाडेको, यसलाई लिएर म काठमाडौंको सडकमा बस्छु, मागेरै पाल्छु, खुवाउँछु,’ उनले ७ वर्षका छोरा देखाउँदै भनिन् ।

खुलामञ्चमा कोरोना संक्रमण सुरु भएदेखि नै खाना खुवाउने अभियान सुरु गरेका हाम्रो टिम नेपालका संयोजक विमल पन्तले असहाय, गरिब तथा विपन्न वर्गको सेवामा निरन्तर सहभागी हुन पाउँदा राज्यप्रतिको जिम्मेवारी महसुस गरेको बताए । ‘हाम्रो अभियान भनेको कोही भोकै नपरून्, कसैले भेदभाव सहन नपरोस् र समानता कायम होस् भन्नका लगि हो, हामी त्यतातर्फ केन्द्रित छौं,’ उनले सुनाए ।हाम्रो टिम नेपालमा हाल सक्रिय सदस्य १ सय ५० जना र साधारण सदस्य सय जना छन् । यसरी खाना खुवाउनका लागि सक्रिय सदस्यबाट मासिक रूपमा १ हजार र साधारण सदस्यबाट एक सयका दरले संकलन गर्ने गरिएको र स्वदेश तथा विदेशबाट समेत निरन्तर सहयोगसमेत प्राप्त भइरहेको जानकारी दिए ।आजको राजधानीमा समाचार छापिएको छ ।

Facebook Comments
1+