११ कार्तिक २०७७, मंगलवार

चीनबाट इन्धन ल्याउन गृहकार्य

0

काठमाडौं – नेपाल आयल निगमले चीनबाट इन्धन आयात गर्न अध्ययन गर्ने भएको छ। निगमले चीनबाट इन्धन आयात गर्ने विषयमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरी काम अघि बढाएको हो।

निगमको सञ्चालक समितिले यो विषयलाई वार्षिक कार्यक्रममा समावेश गरेको छ। निगमले स्वीकृत गरेको ४३ बुँदे नीति तथा कार्यक्रमको बुँदा नम्बर २७ मा यो विषय समावेश गरेको छ। ‘मित्रराष्ट्र चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी फ्रेमवर्क सम्झौताको तयारी गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ। यसबाहेक चीनबाट इन्धन आयात गर्न चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययनसमेत गर्न निगमले योजना तयार पारेको छ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार निकट भविष्यमै टोली गठन गरी अध्ययन अगाडि बढाइनेछ। ‘कोभिड १९ का कारण अहिलेलाई यो योजना प्रभावित भएको हो,’ उपाध्यायले भने, ‘समान्य अवस्था सिर्जना भएसँगै टोली गठन गरी अध्ययनका लागि कार्यक्षेत्रमा परिचालन गर्नेछौं।’ नेपालमा खपत हुने पेट्रोलियम पदार्थको शतप्रतिशत हिस्सा भारतको इण्डियन आयल कर्पोरेसन (आईओसी) सँग द्विपक्षीय सम्झौताअन्तर्गत निगमले आयात गरी बिक्री गर्दै आएको छ। भारतबाट वार्षिक डेढ खर्ब रुपैयाँभन्दा बढीको इन्धन नेपालमा आयात हुन्छ। खपत हुने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट आयात हुँदा यसको कारोबार भारतको एकाधिकार कायम छ।

पेट्रोलियम पदार्थमा भारतको परनिर्भरता हटाउन चीनबाट पनि दीर्घकालीन रुपमा आयात गर्न यो योजना अघि सारिएको प्रवक्ता उपाध्यायले बताए। स्रोतका अनुसार निगमले भारतको विकल्पमा चीनबाट समेत इन्धन आयात गर्न सक्ने बाटो बनाउन चाहन्छ। तर भारतले चीनबाट नेपालले इन्धन आयात गर्ने योजनालाई अघि बढेको विषयलाई मन पराएको छैन।- अन्नपूर्ण पाेस्ट

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस