७ कार्तिक २०७७, शुक्रबार

पहिराेले घर भत्किएपछि सुत्केरीको बास पौवामा

0

अर्घाखाँची । उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका­ १२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहेकी छन्। यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्नु बाध्य भएकी हुन् ।

“बस्दै आएको घर पहिराले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ । बच्चालाई जेनतेन स्याहार गरेकी छु” उनि भन्छिन्, “आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो । पछि राहत आएपछि भात खान पाएको छु ।” उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी छन् । उनी पनि पहिराले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ ।

शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३०० घर पहिराको जोखिममा छन् । सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ । नगरपालिका­१२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३०० घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।

कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए । ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्णरुपमा भत्किएका र १३ घर पहिराको उच्च जोखिममा छन् भने झण्डै २०० घर पहिराको जोखिममा रहेका छन् । पहिराको क्षतिको यकिन विवरण सङ्कलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ ।

Facebook Comments
0