५ कार्तिक २०७७, बुधबार

आजकल बत्ति गइरहने किन ? मुसाले तार काटेर हो ?

2+

काठमाडौँ । नेपाल विद्युत्‌ प्राधिकरणले मर्मतसम्भार गर्न भन्दै ठाउँ-ठाउँमा केही समयका लागि बिजुली काट्ने गरिएको सूचना दिने गरेको छ।

प्राधिकरणका अनुसार पछिल्लो पटक मङ्गलवार भूमिगत तार फेर्न भन्दै काठमाण्डूका बानेश्वर र सिंहदरबार क्षेत्र लगायतका स्थानमा बिहान ७ बजेदेखि ९:३० बजेसम्म विद्युत्‌ आपूर्ति अवरुद्ध भएको थियो। आइतवार काठमाण्डूकै लैनचौरस्थित प्राधिकरणको सबस्टेशनको एउटा प्यानल बोर्डभित्र छिरेर मुसाले तार काटिदिएपछि विद्युत्‌ आपूर्ति अवरुद्ध हुन पुगेको समाचारले निकै चर्चा पायो। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनपछि फेरि लोडशेडिङ हुने पूर्वसङ्केत पो हो कि भनेर आशङ्का व्यक्त गरे।

‘स्याल कराउनु, कुखुरा हराउनुजस्तै’ – तर प्राधिकरणका अधिकारीहरू त्यस्तो अवस्था नरहेको बताउँछन्। प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले भनिन्, “त्यस्तो केही होइन। अहिले ‘स्याल कराउनु, कुखुरा हराउनु’जस्तै भएको हो।” विद्युत्‌ व्यवस्थापनका लागि धेरैबाट प्रशंसा बटुलेका पूर्वकार्यकारी निर्देशक घिसिङले गत भदौ २९ गते प्राधिकरणको चारवर्षे नेतृत्वबाट अवकाश पाएका थिए। केही दिनअघि पनि प्राधिकरणले लोडशेडिङलाई लिएर भइरहेका अड्कलबाजी तथा टीकाटिप्पणीबारे एउटा विज्ञप्तिमार्फत्‌ आफ्नो धारणा सार्वजनिक गरेको थियो।नियमित रूपमा गर्नुपर्ने मर्मतसम्भार तथा प्रणालीमा सुधारको कार्य गर्नुपर्दा विद्युत्‌ आपूर्ति विच्छेद गर्नुपर्ने भएकोले यस्तो अवस्थामा विद्युत्‌ आपूर्तिमा निर्धारित समयसम्म अवरोध हुने गर्छ।” “यदाकदा विद्युत्‌ आपूर्तिमा आउने अवरोधलाई जोडी अब लोडशेडिङ हुन थाल्यो भन्‍ने जस्ता अफवाह सुनिने गरेको” भन्दै प्राधिकरणले त्यसमा “कुनै सत्यता नभएको” जनाएको थियो।

मुसाले पुर्‍याउने क्षति कस्ता? अधिकारीहरूका अनुसार कहिले हावाहुरी र वर्षाका कारण बिजुलीको खम्बा ढल्दा त कहिले ट्रान्सफर्मर पड्केर पनि विद्युत्‌ आपूर्ति अवरुद्ध हुने गरेको छ। मर्मतसम्भारका लागि प्राधिकरण स्वयंले पनि समय निर्धारण गरी बिजुली काट्ने गर्छ। तर त्यसबाहेक बेलाबखत मुसा पनि नियमित बिजुली आपूर्तिमा ‘खलपात्र’को रूपमा देखिने गरेको प्राधिकरणका अधिकारीहरू सुनाउँछन्। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने, “एउटा कुरा मुसाले तार काटिदिँदा लाइन विच्छेद हुन्छ भने अर्को कुरा मुसाले तार काट्दा दुइटा तार जुध्यो भने स्पार्क भएर समस्या आइदिन्छ।” उनका अनुसार मुख्य तारका साथै प्यानल बोर्डमा रहेका उपकरणका सहायक तारहरू मुसाले काट्ने गरेका उदाहरण छन्।

प्यानल बोर्डसम्म मुसा कसरी पुग्छन्? – हुन त मुसाहरू प्यानल बोर्डसम्म ठ्याक्कै कसरी पुग्छन् भने कुरा भन्न नसकिने प्राधिकरणका अधिकारीहरू बताउँछन्, तर सम्भावित केही अवस्था चाहिँ औँल्याउँछ। “प्यानल बोर्डहरू दराजजस्तै हुन्छन्, कहिलेकाहीँ प्राविधिकहरू त्यसलाई बन्द गर्न बिर्सिँदा मुसा पसेको हुनसक्छ।” “अर्को कुरा प्यानल बोर्डभित्र पनि विभिन्न स-साना इलेक्ट्रिक इक्विपमेन्टहरू हुन्छन। त्यससम्म तार पुर्‍याउन प्वाल चाहिन्छ। शायद त्यहीँबाट पनि मुसाहरू भित्र छिरेको हुनसक्छ,”तिम्सिनाले थपे। उनका अनुसार सबस्टेशनमा ‘स्पार्क’ हुँदा अथवा आगो लाग्दा त्यहीँबाट थाहा हुन्छ भने प्रसारण लाइनको हकमा ‘फल्ट डिटेक्टर’को माध्यमबाट पत्ता लगाई मर्मतसम्भार गर्ने गरिन्छ।

सामाजिक सञ्जालमा व्यङ्ग्य – एउटा प्यानल बोर्डमा मुसाले तारे काट्दा आइतवार काठमाण्डूका धेरै स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको खबर सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा त्यसबारे विभिन्न टीकाटिप्पणी भए। धेरैले नेपाल विद्युत्‌ प्राधिकरणको व्यवस्थापनलाई लिएर कटाक्ष गरेको देखियो। पत्रकार गजेन्द्र बूढाथोकीले एउटा उखानसँग जोड्दै ट्वीट गरेका छन्: “पुरानो उखानः मूर्खदेखि दैव डराउँछ , नयाँ उखानः मुसा पसेपछि बिजुली हराउँछ” (नोटः कुलमानका समयावधि सकिनु, लैनचौरका प्यानल बोर्डमा मुसा पसेर लाइन अवरुद्ध हुनु संयोग मात्र हुनसक्छ)”अर्का प्रयोगकर्ता मदनकुमार खरेलले “मुसा आतङ्क” बढेको भन्दै व्यङ्ग्य गरेका छन्। “कुलमानजीलाई हटाउने बित्तिकै प्राधिकरणमा मुसा आतङ्क बढेको कुराले बजार तात्यो नि। यो सत्य हो भने कुन जात र कुन तहको मुसा हो र यसको असली उपचार के हो समयमै सवैको नेपालीको ध्यान जान जरुरी देखिन्छ।” कतिपयले हाल रातिको समयमा उत्पादित बिजुलीमध्ये ठूलो मात्रा प्रयोग हुन नपाएर खेर गइरहेको बताउने गरेकोमा प्राधिकरणका अधिकारीहरूले लकडाउनका बेला त्यो अवस्था देखिए पनि अहिले त्यस्तो नरहेको बताएका छन्। – बीबीसी

Facebook Comments
2+