११ कार्तिक २०७७, मंगलवार

कतारमा रोजगारी गुमाएका नेपाली घर फर्कन नपर्ने

1+

काठमाडौँ – कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु पर्दैन,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘जसको कम्पनी बन्द भएको छ वा रोजगारी गुमेको छ, उसलाई कतार सरकारले नै सीप र दक्षताका आधारमा रोजगारी उपलब्ध गराउनेछ ।’ करार अवधि समाप्त भएपछि नेपालीहरू नेपाल फर्किन पाएका छैनन् । आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा स्वदेश फिर्तीमा समस्या भएको छ ।

उनीहरूमध्ये घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा नाम दर्ता गरिसकेका छन् । त्यसको झन्डै ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको राजदूत भारद्वाजले बताए । ‘उहाँहरूलाई नेपाल फर्कन मन छैन र अर्को कम्पनीमा रोजगारी गर्ने इच्छा छ भने यहीं काम गर्न पाउने वातावरण बनेको छ ।

हामीले पनि यो अवस्थामा स्वदेश फर्कनुभन्दा यहीं काम गर्न प्रोत्साहन गरिरहेका छौं,’ उनले भने, ‘दूतावासले त्यसका लागि आवश्यक कागजात बनाइदिन सहयोग गर्नेछ ।’

असोज ३ गतेसम्म ९ हजार एक सय ७१ जना स्वदेश आइसकेका छन् । सबैभन्दा बढी सेवा क्षेत्र, ढुवानी तथा मझौला कम्पनीमा कार्यरत नेपालीको रोजगारी गुमेको छ । – कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस