३ कार्तिक २०७७, सोमबार

आईपीएल : मुम्बईलाई हराउँदै चेन्नईको विजयी सुरुवात

1+

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित हासिल गर्यो ।

अन्तिम ओभरमा जितका लागि पाँच रन चाहिँएको अवस्थामा फाफ डु प्लेसिसले ट्रेन्ट बोल्टलाई सुरुवाती दुई बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका थिए । युवा अलराउन्डर साम करन ६ बलमा १ चौका र २ छक्का सहित १८ रनमा क्याच आउट भए ।

चेन्नईको जितमा आम्बाती रायुडूले ४८ बलमा ६ चौका र ३ छकका सहित ७१ रनको योगदान दिए । खराब सुरुवात गरेको चेन्नईलाई तेस्रो विकेटका लागि रायुडू र डु प्लेसिसले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । रायुडू १६ औं ओभरको अन्तिम बलमा राहुल चहरको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे ।

मुम्बई इन्डियन्सका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८ र सूर्यकुमार यादवले १७ रन बनाएका थिए । कप्तान रोहित शर्मा २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भए ।चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र दीपक चहारले २–२ विकेट लिए ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको शुरुवात खराब थियो । शेन वाटसन पहिलो ओभरमै चार रन बनाएर आउट भएका थिए । यस्तै मुरली विजयले एक रन मात्रै जोडेर आउट हुँदा चेन्नाइको स्कोर दोस्रो ओभरमा ६ रनमात्र थियो ।

तर अम्बाती रायडु र डु प्लेसिसको साझेदारीले चेन्नाईलाई जित दिलायो । उनीहरुले १४ ओभरमा ११५ रनको साझेदारी गरे । यस क्रममा मुम्बईका जसप्रित बुमराह महँगा सावित भए । उनले चार ओभरमा ४३ रन दिएका थिए ।

Facebook Comments
1+