७ कार्तिक २०७७, शुक्रबार

आन्तरिक उडान सोमबारदेखि, सुरूमै ५०% बुकिङ

0

काठमाडौं। आगामी सोमबारदेखि सुरू हुने आन्तरिक हवाइ सेवाका लागि दुई दिनमै ५० प्रतिशत टिकट बुकिङ भएको छ।

६ महिनापछि सुरू हुन लागेको आन्तरिक उडानका लागि बुकिङ उत्साहजनक देखिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। कोभिड–१९ महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द रहेको हवाई उडान आगामी सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी छ।

आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि कम्पनीहरूले नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई पालना गरेर यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाइएको जनाएका छन्।

उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले जनाएका छन् । शुरुआती चरणमा बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । ‘असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ,’ उनले भने।

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने संघले जनाएको छ । शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान संख्यामा वृद्धि गरिने कम्पनीले जनाएका छन् ।

नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान संख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताए। उनका अनुसार यतीको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । शुरुमा करीब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चीतवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिनेछ । सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान सङ्ख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले बताए।

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि निर्णय सच्याइएको हो ।

महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएको थियो । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि सञ्चालनमा आइसकेको छ ।

Facebook Comments
0