७ कार्तिक २०७७, शुक्रबार

ह्वेलले बाटो बिराएपछि नदीमा !

2+

काठमाडौँ । एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् ।

त्यो ह्वेल समूहमा बर्सेनि हुने बसाइँसराइमा यात्रा गर्दै गरेको र कुनै स्थानमा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको छ ।

बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुद्रमा फर्किएका र कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको छ। अस्ट्रेलियामा ह्वेल बाटो बिर्सेर नदीबाट यति भित्र पुगेको यो पहिलो घटना हो ।

तर ५३ फिट लामो भएकाले उक्त ह्वेललाई गोहीले हानि पुर्‍याउने सम्भावना कम छ । ह्वेल फर्किन नसकेमा भने अप्ठ्यारो पर्न सक्ने अधिकारीहरूले बताएका छन् ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडु नेशनल पार्कको इस्ट एलिगेटर रिभर नामक नदीमा डुङ्गाविहार गरिरहेका केही यात्रीले ह्वेल देखेका थिए ।

स्थानीय बासिन्दाले नदीको घुमाउरो बाटोमा ह्वेल पौडिरहेको देखेर रमाइलो मानेका थिए। “यो यस्तो घटना हो जुन यसअघि भएको जानकारी छैन । यो एकदमै अनौठो हो,” नोर्दन टेरिटरी प्रान्तका समुद्रसम्बन्धी वैज्ञानिक क्यारोल पाल्मरले भनिन् ।

नदीको पानी धमिलो भएकाले नदीमा एकभन्दा बढी ह्वेल छ कि छैन भनेर पत्ता लगाउन सहज नभएको उनले बताइन् । पाल्मरले विज्ञहरू कसरी गलत दिशामा मोडिएर नदीमा ह्लेल पस्यो भन्ने विषयमा जानकार नभएको बताइन् ।

ती ह्वेलहरू एन्टार्टिकाको दक्षिणतिर गइरहेको र नदीको क्षेत्रमा पसेर बाहिर निस्कने प्रयासमा झन् भित्र आइपुगेको हुनसक्ने उनले बताइन् । एन्टार्टिकाबाट चिसो छलेर बच्चा जन्माउन ह्वेलहरू अस्ट्रेलियातिर आउने र फर्किने गर्छन् ।

नदीमा थुप्रै गोहीहरू भए पनि ह्वेलसँग तिनीहरूको द्वन्द्व नहुने अनुमान विज्ञहरूले गरेका छन् । तर पाल्मरका अनुसार यदि ह्वेल नदीमा अड्कियो र किनारमा पुग्यो भने गोहीका लागि सजिलो सिकार बन्न सक्छ । “किनारामा अड्कियो भने हामीले त्यस्तो ठूलो ह्वेललाई उचालेर सार्न सक्दैनौँ र गोहीले आक्रमण गर्नेछन्,”  पाल्मरले भनिन् ।

अहिलेका लागि ह्वेल फर्किने बाटो खुला राख्न त्यहाँबाट समुद्रसम्म डुङ्गालाई प्रतिबन्ध लगाइएको छ । ह्वेल आफैँ बाटो पहिल्याएर फर्किने आशा गरिएको छ । तर अहिलेसम्म समुद्रबाट २० किलोमिटर टाढा नदी गहिरो भएको स्थानमा यो बसिरहेको छ ।

पाल्मरले ठूलो आवाज निकालेर यसलाई धपाउने वा ह्वेलको आवाज निकालेर समुद्रतिर लग्ने प्रयासका बारेमा विचार गरिरहेको बताइन् ।

Facebook Comments
2+