११ कार्तिक २०७७, मंगलवार

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल कारबाहीमा

0

काठमाडौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिल्सले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको हो ।

विभागले शुक्रबार सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । कारबाहीस्वरूप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, सो उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गरी बिक्री वितरण हुन नदिने निर्णय गरेको छ ।

विभागको निर्णयअनुसार जगदम्बाको बजारमा गएका ती सबै रड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस